काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधान अनुसार गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताएका छन्। शनिबार सत्ता गठबन्धनको बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै उनले गठबन्धनको आवश्यकताको चर्चा गरेका हुन्।
'अहिलेको संविधानले एउटै पार्टीले सरकार बनाउने सक्ने अवस्था छैन। गठबन्धन आवश्यक छ। गठबन्धन बनाउनु अनिवार्य छ। विनागठबन्धन कसैको सरकार चल्दैन। अहिलेको संविधान अनुसार गठबन्धन राष्ट्रिय आवश्यकता हो। राष्ट्रले मागेको कुरा हो। यसलाई वर्षौंसम्म अगाडि लैजानुपर्छ,' उनले भने।
प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अत्यन्तै ठूलो अत्याचार भएपछि गठबन्धन बनेको बताए। विरोध सहन नसकेर ओलीले पटकपटक संसद् भंग गरेको पनि उनको भनाइ छ। 'जनताले पाँच वर्षका लागि चुनेको संसद्लाई भंग गरिदिने। अहिलेको नेपालको जुन संविधान छ। यसमा प्रधानमन्त्रीले जथाभावी भंग गर्न पाउँदैन। तर ओलीजीले भंग गरिदिनुभयो। फेरि अदालतले न्याय गरेर पार्लियामेन्ट फिर्ता गरिदियो। तर चल्न दिनुभएको छैन,' उनले भने।
देउवाले ओलीका पालामा कर्मचारी, पुलिस प्रशासनलाई थर्कमान बनाएको तथा जनता समेतलाई तर्साउने काम गरेको बताए। 'त्यसैले अहिलेको गठबन्धनलाई टिकाउन र जिताउन आवश्यक छ। त्यतिमात्र होइन, लडाइँ लडेर ल्याएको प्रजातन्त्र छ। संघीय गणतन्त्र छ। त्यसलाई स्थायी रुपमा राख्नका पनि गठबन्धनका पार्टीहरुलाई जिताउन आवश्यक छ,' उनले भने।
उनले गठबन्धनभित्र कुनै किसिमको आशंका उत्पन्न हुने कुरा आफ्नो पार्टीले गर्न नहुनेमा सचेत गराए। नेपाली कांग्रेसको महाधिवेशनले पनि गठबन्धनलाई अगाडि बढाउने भनेर निर्णय गरेको उनले दोहोर्याए। 'म प्रधानमन्त्री भइसकेपछि गठबन्धन टिकाएर लैजान्छु,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।