रुपन्देही– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पाँच दलबीच भएको तालमेलको इमान्दारितापूर्वक पालना गर्न आग्रह गरेका छन्। कांग्रेस कमजोर भएर होइन संविधान रक्षाका लागि गठबन्धन गरिएको उनले स्पष्ट पारे।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहीबार कांग्रेस र नेकपा (माओवादी केन्द्र)को नगरस्तरीय संयुक्त आमसभामा महामन्त्री शर्माले तालमेल गरेका उम्मेदवारलाई जिताउन आग्रह गरे।
तालमेल भनेको विविधतामा एकता रहेको उल्लेख गर्दै उनले जीवन विविधताकै कारणले चल्ने उल्लेख गरे। 'जीवन विविधताकै कारणले चल्छ, चिन्दै नचिनेको सँग बिहे भएर जीवन बित्छ, यहाँ त सँगै सहकार्य गर्ने साथीलाई मतदान गर्ने कुरा छ, ढुक्कले गर्नुहोस्', महामन्त्री शर्माले भने।
अहिलेको समयमा कांग्रेस र एमाले दुवैको घोषणापत्र पढेर विवेक पुर्याएर मतदान गर्न उनले मतदातासामु आग्रह गरे। तिलोत्तमामा गठबन्धनका उम्मेदवारले जारी गरेको प्रतिबद्धतापत्रको समेत उनले प्रशंसा गरे।
तिलोत्तममा चक्रपथ निर्माण गर्ने योजना उत्कृष्ट रहेको उल्लेख गर्दै महामन्त्री शर्माले तिलोत्तमाको प्रशासनिक भवनलाई अस्पतालमा रुपान्तरण गर्ने योजनाको तारिफयोग्य भएको बताए।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले संविधान बचाउनका लागि गठबन्धन गरिएको बताए।कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले अझै पनि नेपाली समाजमा महिलालाई माथि उठ्न नदिइएको उल्लेख गर्दै यसको अन्त्यका लागि कांग्रेसलाई तीनवटै तहमा विजयी गराउन आग्रह गरिन्।
कांग्रेस नेता चन्द्र भण्डारीले एमाले सरकारले सपना बाँड्नेबाहेक अन्य केही काम नगरेको बताए। कोरोना महामारीमा जनताले सिटामोल, अक्सिजन र भेन्टिलेटर खोजेको बेला एमाले सरकार भ्रष्टाचारमा लिप्त भएको उनको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।