रुकुमपूर्व- रुकुमपूर्वमा यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ।
जिल्लामा ३५ मतदानस्थलको ४९ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन थालिएको हो।
मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटका अनुसार सिस्ने गाउँपालिका–५ स्थित रुक्मिणी माविको हलमा तालिम सञ्चालन भइरहेको छ।
तालिममा कानुनी, व्यवहारिक र सैद्धान्तिक पक्षबारे जानकारी दिइएको छ। मतदान अधिकृत र सहायक मतदान अधिकृतले गर्नुपर्ने काम, कर्तव्य, अधिकारको क्षेत्र तथा मतदान केन्द्र निर्माण गर्ने तरिकाको विषयमा तालिम दिइएको लवटले बताए। मतपेटिका राख्ने ठाउँ, रुजु गर्नेलगायत मतदान कार्यलाई व्यवस्थित गर्ने तरिकाबारेमा सिकाइएको हो।
मतदान केन्द्रमा पुग्नुअघि र पुगेपछि गर्नुपर्ने काम, मतदातालाई भित्र भोट हाल्न कसरी पठाउने, भोट हालिसकेपछि सुरक्षित कसरी बाहिर ल्याउने, निर्वाचन सकिएपछि के के गर्नेलगायत विषयमा तालिममा जानकारी गराइएको लवटले बताए।
निर्वचनमा खटिएर गइसकेपछि निष्पक्ष तरिकाले काम कसरी गर्ने भन्ने विषयमा समेत तालिम दिइएको छ। तालिमको सहजीकरण मुख्य निर्वाचन अधिकृत लवटसँगै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्का, भूमे गाउँपालिकाका निर्वाचन अधिकृत विमलप्रसाद बराल, पुथाउत्तरगङ्गा गाउँपालिकाका निर्वाचन अधिकृत नारायणप्रसाद चापागाइँ, जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीलगायतले गरेका छन्।
तीन गाउँपालिका रहेको जिल्लामा मतदाता संख्या ३३ हजार ५१८ छ। महिला मतदाता १६ हजार ६२४ र पुरुष मतदाता १६ हजार ८९४ रहेको जिल्ला निर्वाचन कार्यालय रुकुमपूर्वले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।