काठमाडौं– अभिनयमा अब्बल, तर व्यापारमा असफल। अभिनेता कर्मा शाक्यलाई एक वाक्यमा परिचित गराउन यसो भन्न सकिन्छ।
कर्माले फिल्मी करिअर सुरु गरेदेखि नै उनी अभिनयमा त पक्का छन्, तर उनका फिल्महरुले बक्स अफिसमा भने पक्का व्यापार गर्न सकेका छैनन्। कर्माले ‘सानो संसार’मा काम गरे, फिल्म सफल भएन्। ‘लुट’ र ‘फस्ट लभ’जस्ता हिट फिल्ममा काम त गरे, तर उनको भूमिका सालो हिरोको रुपमा थिएन। ‘लभ सासा’ र ‘गरुण पुराण’ ठूलो आशा गरिएको फिल्म थियो। तर, खासै सफल भएन।
पछिल्लो पटक उनी फरक विधाको फिल्म ‘कठपुतली’मा देखिए। फिल्मले सन्तोषजनक व्यापार त गर्यो, तर कर्मालाई चर्चाको त्यो सिँढी चढाउन सकेन।
अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा उनी अभिनित ‘महानगर’ले राम्रै चर्चा कमाइरहेको छ। तर, देशभित्रै व्यापारिक रुपमा भने कर्माको कर्मले खास ठाउँ पाएको छैन।
वैशाख २३ बाट कर्माको अर्को फिल्म प्रदर्शन हुँदै छ ‘षट्कोण’। थ्रिलर विधाको यो फिल्ममा कर्मा पत्रकारको भूमिकामा छन्। धेरैले फरक विधामा बनेको वैकल्पिक सिनेमाको रुपमा यसलाई चर्चा पनि गरिरहेका छन्।
तर, फिल्म कर्माको ‘हिट’ फिल्म बन्ला कि नबन्ला भन्नेमा संकोच नै छ। एकातिर सामान्य प्रचारपसार भएको छ भने अर्कातिर फिल्मको विधा नै फरक। शंकै शंकाका बीच फिल्म कर्माको काम गरेका फिल्मको सुचिमा मात्रै पो चढ्ने हो कि?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।