काठमाडौं–निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई फेरबदल नगर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ।
आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै अति जरुरी, मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक फेरबदल नगर्न निर्देशन दिएको हो। यस्तै, उपर्युक्त कारण परेको अवस्थाबाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिएको छ।
मतदान कार्यका लागि खटिएका सम्पूर्ण कर्मचारीलाई अनिवार्य रुपमा आफू खटिएको ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।