काठमाडौं–नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवार बनेका तथा उनीहरुका प्रस्तावक तथा समर्थकहरु पार्टीबाट स्वतः निस्कासन भएको जनाएको छ।
कांग्रेसले बिहीबार साँझ विज्ञप्ति प्रकाशित गरी उनीहरुको पार्टी सदस्यता पार्टीको विधानबमोजिम समाप्त भई स्वतः निस्कासन भएको जनाएको हो।
त्यस्ता विद्रोही उम्मेदवार, उनीहरुका प्रस्तावक र समर्थकहरुको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरुको अन्तिम नामावलीहरुको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपीसहित तत्काल केन्द्रमा पठाउन पनि जिल्ला कार्यसमितिहरुलाई केन्द्रले निर्देशन दिएको छ।
विद्रोही उम्मेदवारहरुले आफ्नो उम्मेदवारीप्रति पुनर्विचार गरी सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निस्क्रिय गर्न र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन अनुरोध गर्दै कांग्रेस केन्द्रले यही वैशाख १९ गते आव्हान गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।