काठमाडौं–एमाले महासचिव शंकर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई साथ लिए उल्टै एमालेको भोट घट्ने बताएका छन्।
बिहीबार पत्रकारहरुसँगको अन्तर्क्रियामा पोखरेलले प्रचण्डलाई साथमा लिए उल्टै एमालेको जनाधार कमजोर भई भोट घट्ने बताए। ‘प्रचण्ड र माधव नेपाललाई बोकेर त सम्भवै छैन नि,’ उनले भने। तर अहिले पनि पार्टी अध्यक्ष केपी ओली र प्रधानमन्त्री एवं नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाबीच नियमित संवाद भइरहेको उनले बताए।
स्थानीय तहको निर्वाचनपछि एमाले सबल शक्तिका रुपमा आए अन्य सबै कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गर्ने उनको दाबी थियो। अस्थिर राजनीतिका कारण सरकार चलाउन नसकिएको सत्य भएको उल्लेख गर्दै उनले विगतमा कांग्रेसले पनि बहुमत ल्याउँदा सरकार चलाउन नसकेको उदाहरण दिए।
‘त्यही भएर अहिले हामीले बलियो शक्ति आवश्यक छ भनेका हौं,’ उनले भने, ‘अबको आवश्यकता भनेको नै नीतिगत नेतृत्वसहितको बलियो शक्ति हो, नेपालको राजनीतिमा केपि ओलीको खोजी जनस्तरबाट भैरहेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।