काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भाग लिन अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दल र सम्पूर्ण आम नागरिकलाई आग्रह गरेका छन्।
बिहीबार सप्तरीको राजबिराजमा आयोजित सुरक्षा गोष्ठीमा गृहमन्त्री खाणले आम नागरिक र राजनीतिक दलहरूलाई निर्वाचनमा भाग लिने वातावरण निर्माण गर्न स्थानीय प्रशासन र सुरक्षा निकाय लाग्नुपर्ने बताए।
‘आवधिक निर्वाचन लोकतन्त्रमा अपरिहार्य हो। म अहिलेसम्म निर्वाचनमा भाग नलिएका राजनीतिक दललाई यो निर्वाचनमा माग लिएर नागरिकको सशक्तिकरण र विकास निर्माणको कार्यमा सहभागी हुन आग्रह गर्छु,’ गृहमन्त्री खाणले भने, ‘निर्वाचनमा सबैको सहभागिताका लागि स्थानीय प्रशासन र सुरक्षा निकायले वातावरण निर्माण गर्नुपर्छ।’
गृहमन्त्री खाणले सरकार स्थानीय तह निर्वाचन शान्तिपूर्णरूपमा स्वच्छ, निष्पक्ष र धाधलीरहित तरिकाले सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए।
सीमित स्रोत र साधनको उपयोग गरेर निर्वाचनको सुरक्षा प्रबन्धबारे सुरक्षा निकाय र स्थानीय प्रशासनले गरेको तयारी प्रशंशायोग्य रहेको भन्दै गृहमन्त्री खाणले आगामी दिनमा पनि यो भन्दा राम्रो व्यवस्थापन स्थानीय प्रशासन र सुरक्षा निकायले निर्वाचनका सन्दर्भमा गर्नेमा आफू आशावादी रहेको बताए। सुरक्षा गोष्ठीका सहभागीहरूले निर्वाचनको तयारी चुस्तदुरुस्त रूपमा आफूहरूले गरिरहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।