काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुले उठाइरहेको दुई दलीय व्यवस्थाको बचाउ गरेका छन्। उनले जनताको छनोटबाट होस् भनेको तर कानुनी हिसाबले नै त्यस्तो होस् भनेर नभनेको बताए।
एमाले महासचिव पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले पटकपटक आफ्ना सार्वजनिक अभिव्यक्तिहरुमा मुलुक दुई दलीय व्यवस्थामा गएको वा जानुपर्छ भन्ने आशयबाट बोलिरहेका छन्। बिहीबार पत्रकारहरुसँगको अन्तर्क्रियामा पोखरेलले यसबारे स्पष्ट पारेका हुन्।
उनले संसद् विघटन गरेका कारणले त्यसको औचित्य पुष्टि गर्न अहिले संसद् चल्न दिएन भन्ने आरोप पनि गलत भएको बताए। 'हाम्रो मुद्दा अदालतमा छ। त्यसमा किन सुनुवाइ हुदैन न त? कि, सुनुवाइ छिटो हुनुपर्योो। त्यहाँबाट फैसला आएपछि त दोस्रो दिनबाट फैसला मानेर जान्छौँ', उनले भने।
आफ्नो कुरा सत्ता पक्षले पनि नसुनेको उनको भनाइ छ। 'हाम्रो कारणले मात्रै होइन। अदालतले छिटो नटुंगो नलगाउँदा, सत्तापक्ष र सभामुखले भूमिका नखेल्दा पनि समस्या देखिएको हो', उनले भने।
उनले एमाले संकटमा नभएको पनि बताए। 'एमाले संकटमा भएको वा कमजोर भएको भए त हाम्राविरुद्ध किन यति धेरै लागेका छन् त? हामी संकटमा छैनौं। जनताको समस्या बुझ्न नसकेका शक्ति संकटमा भएकाले मिलेका छन्', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।