काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन अहिलेको आवश्यकता भएको भन्दै भरतपुरमा हँसिया हथौडालाई भोट नहालेमा देश दुर्घटनातिर जाने चेतावनी दिएका छन्।
'मैले टेक प्रसाद लगायतका साथीहरूलाई के चाहेको छु भने, तपाईंहरूलाई अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यता हो, यो गठबन्धन लोकतन्त्र र गणतन्त्रको आवश्यता हो, देशको जनताको विकास र समृद्धिको आवश्यता भनेर नबुझेर, हँसिया हथौडामा भोट हालिँदैन भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ', भरतपुरमा आज आयोजित सभामा प्रचणडले भने।
प्रचण्डले गठबन्धनलाई देश र जनताको आवश्यकताको रुपमा बुझ्न सुझाए। 'यो गठबन्धन राष्ट्रको आवश्यता हो, देशको आवश्यता हो, समृद्धिको आवश्यता हो, यो लोकतन्त्रको आवश्यता हो भनेर तपाईं चितवनबासीले उत्साहपूर्ण ढंगले यो रेनु र चित्रसेनको टिमलाई विजयी गराउनु भयो भने म निकै उत्साहित हुनेछु। र यो गठबन्धनलाई १०/१५/२० बर्ष लैजाने मेरो प्रतिबद्धता हुनेछ', उनले भने।
प्रचण्डले २०७४ सालमा पनि गठबन्धनलाई १०/१५ वर्ष लैजाने गरी छलफल भएको स्मरण गरे। 'गठबन्धनलाई १०/१५ वर्ष लाने नै शेर बहादुरजीसँग छलफल भएको थियो। तर व्यवहारका आउँदा मैले सहज देखिनँ। सहज नदेखिएको जिल्ला चितवन हो। यसले चिन्तित बनायो', उनले भने।
सभामा बोल्ने कांग्रेसका केही नेताहरुले प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरे पनि पछि तोड्ने आशंका व्यक्त गरेका थिए। त्यसको प्रतिवाद गर्दै उनले रुखवालाले हँसिया हथौडामा मत नहालेका कारण त्यतिबेलाको गठबन्धन टुटेको बताए।
'टेक प्रसाद गुरूङले मतिर ताकेर केही प्रश्न गर्नु भएको छ। त्यसको धेरै स्पष्टीकरण दिन आवश्यक ठान्दिन। मैले साँचै नै अहिले तपाईंहरूको अगाडि उभिएर बोल्दै गर्दा, रूखवालाहरूले हँसियाहथौडालाई भोट हाल्न धेरै गाह्रो देखेँ। तपाई चितवनबासी नै हो', उनले भने।
प्रचण्डले एमालेसँग एकता गरेर ज्ञान पाएको बताए। उनले यसपटक आफूलाई विश्वास गर्न आग्रह गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।