काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले रेनु दाहाललाई मत दिनका लागि आफ्नै पार्टीपंक्तिलाई आग्रह गरेका छन्। बिहीबार भरतपुरमा आयोजित सभामा सम्बोधन गर्दै देउवाले रेनुको पक्षमा खुलेर मत मागेका हुन्। उनले रेणुलाई कुनै पनि शंका नहुनेगरी सहयोग गर्नु चितवका साथीहरुको कर्तव्य भएको सम्झाए।
देउवाले पटकपटक रेनुले चुनाव जितिसकेको बताएका थिए। 'उहाँ जितिसक्नुभएको छ। तर हाम्रो पार्टीले कुनै पनि किसिमको बखेडा गर्ने काम छैन। सहयोग गर्न म अनुरोध गर्न चाहन्छु', उनले भने।
देउवाले तालमेलबारे अन्यत्र कहीँ पनि विरोध नभएको तर भरतपुरमा भएको भन्दै त्यसमा षडयन्त्र भएको बताए। 'अन्यत्र कहीँ पनि बिरोध भएको छैन। यहीँमात्र किन बिरोध भयो? यहाँ ठूलो षडयन्त्र छ। गठबन्धन टुटाउने षडयन्त्र छ। यो षडयन्त्रमा फस्यो भने हाम्रो पार्टी पनि खत्तम हुन्छ। उहाँहरुको पनि त्यही हो', उनले भने, 'कुनै पनि हालतमा गठबन्धन टुटाउने षडयन्त्र भरतपुर चितवनबाट हुनै सक्दैन। हुँदै हुँदैन। यो कुरामा स्पष्ट हुनुस्।'
आफ्नो पार्टीका नेताहरुले पछि अवसर पाउने भन्दै राम्रो काम गर्न सुझाए। 'भोलि हाम्रा साथीहरुले मौका पाइहाल्छन् नि। राम्रो काम गर्नुस् न। भोलि उहाँहरुलाई छाडिदिनुस्, हामीलाई सहयोग गर्नुस् भनौला नि। उहाँलाई सहयोग गरेर हेर्नुपर्यो नि हामीले यो पल्ट', देउवाको भनाइ छ।
रेनुले राम्रो काम गरेको भन्दै उनलाई हराइयो भने भरतपुरका जनताले के भन्लान्? भन्ने प्रश्न गरे। 'जसले यस्ता यस्ता काम गर्ने अठोट लिनुभएको छ। उहाँले अन्तर्राष्ट्रिय क्रिकेट मैदान, अन्तर्राष्ट्रिय कन्फरेन्स हल बनाउने काम गर्दै हुनुहुन्छ। भोलि अन्तर्राष्ट्रिय फ्लाइट हुने हवाइ मैदान बन्न सक्दछ। योभन्दा बढी यहाँका जनतालाई के फाइदा छ? यो गर्ने मान्छेलाई त राम्रो काम हो, धन्यवाद भन्नुपर्नेमा यहीँका साथीहरुले, पार्टीका साथीहरुले विरोध गर्न मिल्दैन', देउवाको आग्रह थियो।
रेनुलाई जिताएको खण्डमा गठबन्धन बलियो हुने देउवाको भनाइ छ। त्यसो भएमा गठबन्धन पनि १०/२० गठबन्धन चल्ने देउवाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।