काठमाडौं– स्थनीय तहको चुनावको छेकोमा चितवनमा आयोजित सत्तारुढ गठबन्धनको सभामा हास्यकलाकार सन्दीप क्षेत्री पनि उपस्थित भएका छन्। उनले आफू चितवनमै भएको र मेयर पदकी उम्मेदवार रेनु दाहालको कामले प्रभावित भएकाले कार्यक्रममा सम्बोधन गर्न आएको बताए।
‘मैले मेरो कार्यक्रममा जानुअघि आमालाई सोधेँ, दिदीको यस्तो कार्यक्रम रहेछ बोलिदिउँ?’ सन्दीपले भने, ‘आमाले पार्टीको लागि होइन, संगठनका लागि होइन, तैंले देशको लागि बोल्ने हो भन्नुभयो। त्यो केटीले देशको लागि काम गरिरहेको छ। बोल्दा हुन्छ भन्नुभयो।’
क्षेत्रीले चितवनमा रेनुले दिदीबहिनीले दाजुभाइलाई तिहारमा दिइने आशीर्वाद, लगाइदिने माला र पहिराउने टिकाजस्तै चितवनलाई सुरक्षित, सुखमय राख्नुपर्ने पनि बताए।
उनले भने, ‘मैले तपाईंलाई दिदी भनिरहेको छु। यो चितवन तपाईंको भाइ हो, दाइ हो। अब यसमा तपाईंको यस्तो घेरा कोर्नुहोस्, चितवनका हरेकले आफूलाई सुरक्षित महसुस गरून्। सांस्कृतिक, भौतिक हरेक रुपले तपाईंहरुले सुरक्षित महसुस गराउनुहोस्।’
क्षेत्रीले रेनुको कार्यकालमा भएका कामका आधारमा हरेक पटक उनलाई याद गर्न सक्ने अवस्था सिर्जना गर्न सुझाए। उनले भने, ‘चितवनले हरेक पटक दिदी पाएँ भन्न पाओस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।