काठमाडौं- सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बढुवा विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
बुधबारदेखि न्यायाधीश माथेमाको इजलासमा दुई पक्षीय बहस भएको थियो। सरकारले पहिलो वरीयतामा रहेका विश्वराज पोखरेललाई प्रहरी प्रमुख नबनाइ तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई बनाएपछि यो विवाद सर्वोच्च पुगेको थियो।
पोखरेलले बढुवाका लागि आफू योग्य भएको, तर सरकारले आफूभन्दा कनिष्ठलाई प्रहरी ऐन र नियमावलीको व्यवस्था विपरीत बढुवा गरेको जिकिर गर्दै रिट दायर गरेका थिए। उक्त रिटको पहिलो दिनमै सरकारी पक्ष हस्तक्षेप बहसका लागि पुगेपछि दोहोरो सुनुवाइ भएको हो।
सरकारका तर्फबाट महान्यायाधिवक्ता खम्बबहादुर खातीसहितको टोलीले 'सरिक हुन पाउँ' भनी निवेदन दिँदै शुरुकै दिन बहस गरेका थिए। निवेदकहरुको बहसपछि उनीहरुले अन्तरिम आदेश जारी गर्न नहुने बहस गरेका थिए।
पहिलो दिन धेरै कानुन व्यवसायी भएपछि बहस बाँकी रहेकाले हेर्दा हेर्दैमा राखिएको थियो। बिहीबार निवेदक पोखरेलका पक्षबाट जवाफी बहस भएको थियो। जवाफी बहसका क्रममा पोखरेल आफैंले पनि आफ्नो कुरा राखेका थिए। सबै पक्षको बहसपछि सर्वोच्चले यस्तो आदेश सुनाएको हो।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।