काठमाडौं- नेपाली कांग्रेस चितवनका पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठले रेनु दाहाल नेतृत्वको गठबन्धनको टिमलाई जिताउन भूमिका खेल्ने बताएका छन्। तर सँगसँगै उनले प्रचण्डलाई गठबन्धनप्रति प्रतिबद्धता जाहेर गर्न पनि आग्रह गरेका छन्।
बिहीबार भरतपुरको चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्ना पार्टी सभापति शेरबहादुर देउवा सोझो रहेकोले नझुक्याउन आग्रह गरेका हुन्।
'हाम्रो पार्टीको सभापति सोझो हुनुहन्छ। जे बोल्नु हुन्छ, त्यही गर्नुहुन्छ। भोलिका दिनमा हिजो जस्तै ढाँट्ने काम नहोस्', उनले भने, 'जे प्रतिबद्धता आजभन्दा पाँच वर्षअघि यहीँ आएर गरेका थियौँ। तर तीन महिनापछि टुट्यो।’
त्यस्तै, उनले प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै भने, ‘आज तपाईंहरू तिनै जना नेताको प्रतिबद्धता यहाँ जाहेर हुन्छ भन्ने आशा गरेको छु।’
२०७४ सालको निर्वाचनमा भरतपुर महानगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो। जसअनुसार मेयरमा रेनु दाहालले जितेको थिइन्। तर, लगत्तै भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेसँग तालमेल गरेको थियो। पछि दुई पार्टीबीच एकता नै भएको थियो।
कांग्रेस नेताहरुले त्यतिबेला जस्तै माओवादीले रेनुलाई पनि मेयरमा जिताएपछि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अहिलेको गठबन्धन तोडेर एमालेसँग मिल्न जाने आशंका गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।