काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले पाँच वर्षअघिको निर्वाचनमा काठमाडौं महानगरपालिकालाई केके बनाउँछु भनेको थियो र केके बनायो भन्ने कुराको जवाफ दिनुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित क्रियाशील कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले एमालेले पाँच वर्ष काठमाडौं चलाउन पाएको बताए। पाँच वर्षपछि चुनावमा आउँदै गर्दा गएको पाँच वर्षमा मैले योयो कामहरु गरेँ भनेर आउनुपर्ने उनले बताए।
'जवाफदेहिता नरहने हो भने आवधिक निर्वाचनको अर्थ के हुन्छ? त्यसैले एमालेले उत्तर दिनैपर्छ। काठमाडौं कति सफा भयो। काठमाडौं कति सहज भयो। काठमाडौंलाई केके बनाउँछु भनेको थियो, केके बनाइयो। उत्तर दिनैपर्छ,' थापाले भने।
उनले सिर्जना सिंहले सानासाना काम गर्ने प्रतिबद्धता व्यक्त गरेको चर्चा गरे। 'मैले अस्ति पनि भनेँ, म चन्द्रमामा पुर्याइदिन्छु, यहाँबाट यहाँ दौडाइदिन्छु, भन्ने जस्तो केही पनि देख्दैनौं। साधारण कुराहरु छन्। सामान्य कुराहरु छन्। त्यहीँ साधारण र सामान्य कुरा गर्ने मान्छे अहिले हामीलाई चाहिएको हो। यो मौका एकपटक हामीले पाएका छौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।