काठमाडौं– नेपाल प्रहरीको महानिरीक्षक बढुवामा जवाफी बहसका क्रममा बढुवामा नपरेका विश्वराज पोखरेलले इजलासमा समय लिँदै भावुक भनाइ राखेका छन्।
न्यायाधीश शुष्मालता माथेमाको इजलासमा समय लिँदै उभिएर उनले भने, ‘आईजीपी नियुक्ति मेरो मृत्युभन्दा दुःखद् हो श्रीमान्, मैले चारवटा विभाग कमान्ड गरेको छु, तर आज ममाथि अन्याय भयो। न्याय माग्न आएको छु।’ जवाफी बहसका क्रममा बिहीबार उनका तर्फबाट माधव बस्नेत, पूर्व महान्यायाधिवक्ता रमेश बडाल र सुनिल पोखरेलले बहस गरेका थिए।
बहसपछि केही भन्नु छ भन्दै समय मागेका पोखरेललाई न्यायाधीश माथेमाले समय उपलव्ध गराएकी थिइन्। उक्त समयमा उनले आफूले अहिलेसम्म संगठनका लागि बेदाग रहेर काम गरेको दाबी गरे।
‘सरकारले गरेको प्रहरी महानिरीक्षक बढुवाले मलाई र मेरो संगठनलाई आघात भएको छ,’ उनले भने, ‘मैले फुली लगाइदिएको मानिस अहिले मभन्दा अगाडि बढुवा भएको छ।’ उनले आफ्नो कार्यकालको अवधिमा एउटा पनि दाग नभइ काम गरेको, तर अहिले अन्यायमा परेको दाबी गरे।
‘यसरी बढुवा हुँदा होनहार अफिसर जो आईजीपी हुने सपना देखेर संगठनमा लाग्छन्, उनीहरुलाई अन्याय भएको छ,’ उनले भने, ‘भविष्यमा आईजीपी हुने सपना देखेर संगठनका लागि काम गर्न नसकिने अवस्था सिर्जना हुने भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।