तस्बिर स्रोत : नारायणी अनलाइन।
चितवन– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई भेटेका छन्।
बिहीबार बिहान होटल सिराइचुलीमा जगन्नाथ, मीना खरेल र कृष्णलाल सापकोटालाई पौडेलले भेटेका हुन्। जगन्नाथले मेयरको उम्मेदवारी दिँदा खरेल समर्थक र सापकोटा प्रस्तावक बसेका थिए।
भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल मेयर र कांग्रेसका चित्रसेन अधिकारी उपमेयरको उम्मेदवार बनेका छन्।
भरतपुरमा यसपटक कांग्रेसले मेयर पाउनुपर्ने स्थानीय नेता/कार्यकर्ताको माग थियो। उनीहरूले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई पटक पटक यस विषयमा दबाब पनि दिएका थिए। तर, गठबन्धनको भागबन्डामा भरतपुयर माओवादीलाई पर्यो। र, यसअघिकी मेयर दाहालले नै पुन: टिकट पाइन्।
त्यसपछि पूर्वसांसद समेत रहेका जगन्नाथले स्वतन्त्र उम्मेदवारी दिए। आजको भेटमा रामचन्द्रले जगन्नाथलाई उम्मेदवारी निस्कृय बनाउन आग्रह गरेका थिए। तर, जगन्नाथले आफूहरू गठबन्धनको पक्षमा नरहेको र कांग्रेस बचाउन आफ्नो उम्मेदवारी कायमै राख्ने अडान दोहोर्याएको बताइन्छ।
यसअघि कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाण र उमेशलाल श्रेष्ठले पनि चितवन पुगेर पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। तर, उनी पछि हटेनन्।
बिहीबार नै भरतपुरमा सत्ता गठबन्धनले चुनावी सभा गर्दैछ। सभालाई कांग्रेस सभापति देउवा, वरिष्ठ नेता पौडेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ। जसका लागि देउवा बुधबार बेलुकादेखि चितवनमै छन्।
बिहीबार हुने चुनावी सभाअघि नै रामचन्द्रले जगन्नाथलाई फकाउने प्रयास गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।