काठमाडौं– नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दुई केन्द्रीय सदस्यलाई कारबाही गरेको छ। पर्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जारी गरेको विज्ञप्तिमा केन्द्रीय सदस्यद्वय उदयबहादुर चलाउने 'दीपक' र गुणराज लोहनीलाई निलम्बन गरिएको उल्लेख छ।
सचिवालय बैठकले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरेको बताइएको छ। पर्टीभित्र गुटबन्दी गरेर पार्टी फुटाउने, जनक्रान्तिलाई बिसर्जन गर्ने, पार्टीको नयाँ ढंगले स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिका विरुद्ध अफवाह फैलाउने, पार्टी नेतृत्वको विरुद्ध विष वमन गरेका कारण उनीहरूलाई निलम्बन गरिएको उल्लेख छ।
'अन्ततः पार्टी, एकीकृत जनक्रान्ति, पार्टी पद्धति र अनुशासनविरुद्ध अक्षम्य गल्ती गरेका कारण पार्टी केन्द्रीय समितिको सचिवालयको बैठकको निर्णयले पार्टी जिम्मेवारीबाट मुक्त गरि निलम्बन गरेको छ,’ प्रकाण्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
विप्लवले यसअघि दुईजना सचिवालय सदस्य, तीनजना पूर्ण केन्द्रीय सदस्य र ५/६ जना वैकल्पिक सस्दयलाई हटाइसकेका छन्।
यसअघि गत वैशाख १४ मा विप्लवले हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलालाई जिम्मेवारीबाट हटाएका थिए।
केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष ईश्वरी दाहालको नेतृत्वमा वली र बास्तोला पक्षले बुधबार चितवनमा भेला गरेर विप्लव र प्रकाण्डलाई पार्टी जिम्मेवारीबाट हटाउने निर्णय गरेका थिए।
उनीहरूले विप्लव सिद्धान्तबाट विचलित भएर पार्टी तथा क्रान्तिलाई धोका दिएको आरोप लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।