सबै तस्बिर : ऋषि रेग्मी।
चितवन– बिहीबार सत्ता गठबन्धनले चुनावी सभा गर्ने तय भएको स्थानमा पानी जमेको छ। सत्ता गठबन्धनले भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा चुनावी सभा गर्ने तयारी गरेको थियो।
तर, राति परेको पानीले चुनावी सभाका लागि तयार पारिएको स्थलमा असर गरेको छ। सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।

उक्त सभास्थलमा पानी जमेर ताल बनेको छ। बुधबारदेखि बनाउन थालिएको मञ्चको भाग पानीले पुरै डुबेको छ। सम्भव भए जेनेरेटरको प्रयोगले पानी फालेर सोही स्थानमा सभा गर्ने, नभए वैकल्पिक व्यवस्था गरिने गठबन्धनका चितवनस्तरीय नेताहरूले बताएका छन्।
भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन्।
यो क्षेत्रमा कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने एमालेको तर्फबाट विजय सुवेदी मैदानमा छन्।
पौडेलको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री बालकृष्ण खाणसहितका कांग्रेस नेताहरू चितवन पुगेपनि सफल हुन सकेका थिएनन्। पौडेललको उम्मेदवारीले सत्ता गठबन्धनलाई चुनौती थपिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।