बारा– २०७४ को स्थानीय तहको निर्वाचनमा बाराका दुई उपमहानर जितपुर सिमरा र कलैयामा दुई प्रमुख दलबीच कडा प्रतिस्पर्धा भयो। त्यसमध्ये कलैयामा नेपाली कांग्रेसका राजेश राय यादव १८४ मतको अन्तरले विजयी भए। ५७ हजार मतदाता रहेको कलैयामा फेरि पनि पुरानै प्रतिस्पर्धी आमनेसामने छन्।
यतिबेला दुवै उम्मेदवार चुनावी प्रचारप्रसारमा व्यस्त छन्। नेपाली कांग्रेसका उम्मेदवार यादवलाई यस पटक सत्ता गठबन्धन दलहरुको साथ छ।एमाले उम्मेदवार विनोद साह एक्लै प्रतिस्पर्धामा छन्।
यस पटक पनि सत्ता गठबन्धनका उम्मेदवार र विपक्षी दल एमालेको कडा प्रतिस्पर्धा हुने देखिन्छ। गठबन्धनका तर्फका उम्मेदवार यादव कांग्रेस जिल्ला सभापतिसमेत हुन्। उपप्रमुखमा जनता समाजवादी पार्टीका तर्फबाट प्रमोद गुप्ता प्रतिस्पर्धामा छन् ।
एमाले मेयरका उम्मेदवार साह पनि जिल्ला अध्यक्ष हुन्। उपप्रमुखमा एमालेले रोशन प्रविनलाई उम्मेदवार बनाएको छ।
यस्तो थियो २०७४ को प्रतिस्पर्धा
कलैयामा २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका यादवले १० हजार ९०३ मत पाएर विजयी भएका थिए। एमालेका विनोदप्रसाद साहले १० हजार ७१६ मत पाए।
त्यस्तै, तत्कालीन संघीय समाजवादी फोरमका प्रमोदप्रसाद गुप्ता ९ हजार ४०४ मतका साथ तेस्रो स्थानमा थिए। कलैयामा तत्कालीन समयमा संघीय समाजवादी फोरम र राजपा तेस्रो र चौथो शक्ति थिए। यसबीचमा यी पार्टी एक भएर फेरि विभाजित हुँदै जसपा र लोसपा भएका छन्। तुलनात्मक रुपमा उक्त नगरमा जसपा बलियो छ। जसपाले सत्ता गठबन्धनसँग मिलेर उपमेयरमा उम्मेदवारी दिएको छ।
त्यस्तै तत्कालीन राजपा नेपालका जयप्रकाश साह तेलीले ३ हजार १२२ मत पाएका थिए भने माओवादी केन्द्रका मुकेश साहले ४ हजार ३३१ मत पाएका थिए। कुल २७ वडा रहेको कलैया उपमहानगरमा एमालेले ८ वडा आफ्नो पक्षमा पारेको थियो। नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले ६-६ वटा वडा जितेका थिए। माओवादीले ३, राजपाले २ र स्वतन्त्र उम्मेदवारले २ वटा वडा जितेका थिए।
विगतको निर्वाचनमा उपमहानगरको प्रमुख पदमा कांग्रेस अगाडि भए पनि वडागत संरचनामा संख्यात्मक रुपमा एमाले शीर्षस्थानमा देखिएको थियो। कलैया उपमहानगरपालिकामा मधेसवादी दल तेस्रो शक्तिका रुपमा थिए।
१३ हजार नयाँ मतदाता
कलैयामा अहिले १३ हजार नयाँ मतदाता थपिएका छन्। अहिले कुल ७० हजार ३५६ मतदाता उक्त निर्वाचन क्षेत्रमा छन्। जसमा पुरुष ३९ हजार ६६२ र महिला ३० हजार ६९३ जना रहेका छन्।
१३ हजार ८६६ मतदाता युवाहरु थपिएकाले उनीहरुले निर्वाचनको नतिजा परिर्वतन गराउनसक्ने नेताहरुको दाबी छ। युवा मतदाताहरुले पार्टीभन्दा योग्य उम्मेदवार छान्ने भएकाले यसले फरक पार्ने उनीहरुको दावी छ।
के भन्छन् उम्मेदवार?
नेपाली कांग्रेसका बारा सभापति समेत रहेका कलैयाका मेयर राजेश राय यादवले कलैया रहेको निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस एक्लै बलियो भएको र थप गठबन्धनसमेत भएकाले आफूहरुले सहज रुपमा जित हात पार्ने दाबी गरे। ‘अहिलेको परिस्थितिमा नेपाली कांग्रेसले कलैया उपमहानगरमा गठबन्धन नै नगरेको भए पनि जित्ने थियो,’ उम्मेदवार साहले भने, ‘गठबन्धनपछि झन् बलियो भएका छौ।’
तर, एमालेका उम्मेदवार विनोद साह यो पटक विगतको झैं गल्ती मतदाताले नगर्ने बताउँछन्। एमाले बाराका अध्यक्षसमेत भएकाले पार्टीले फेरि पनि जिम्मेवारी दिएकाले यस पटक गठबन्धनका सबै उम्मेदवार हराउने उनले दाबी गरे। ‘यसपटक एमालेमा लहर छ, कलैयामा पार्टी फुटको कुनै असर छैन, कांग्रेससँग अरु मिले पनि केही छैन,’ उनले भने ‘हामी चुनाव जित्छौँ।’
अघिल्लो पटक निर्वाचित व्यक्तिले कलैयामा विकास नगरेको र भ्रष्टाचार मात्र भएको कुरा जनताले आफूलाई गुनासो गरेकाले यस पटक आफूलाई सहज रहेको उनले दाबी गरे। आफूले विगतको गल्तीबाट धेरै कुरा सिकेको समेत उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।