धनगढी– सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका हो धनगढी। वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि देशका अन्य स्थानीय तहमा जस्तै धनगढीमा पनि चुनावी चहलपहल बढेको छ।
धनगढीको प्रमुख पदमा आठ जनाको दलका तर्फबाट र एक जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ। धनगढीको प्रमुख पदमा निवर्तमान नगर प्रमुख तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारी छिन्।
नेकपा एमालेबाट प्रमुख पदमा रणबहादुर चन्द र उपप्रमुखमा कन्दकला राना तथा गोपाल हमालले स्वतन्त्र रुपमा प्रमुख पदमा उम्मेदवारी दर्ता गरेका छन्।
नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिएको धनगढीमा सत्तारुढ गठबन्धनलाई नेकपा एमाले र स्वतन्त्र उम्मेदवार हमालका कारण चुनौती थपिएको छ। २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले केही वडामा मात्र पराजय व्यहोर्नु परेको थियो।
अहिले नेपाली कांग्रेसको वडा तहको विवादका कारण सत्तारुढ गठबन्धनलाई समस्या भइरहेको छ। केही वडाध्यक्षका लागि बागी उम्मेदवार रहेकाले केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधीहरु ती उम्मेदवारहरुसँग विभिन्न चरणमा छलफलमा रहेका छन् भने सत्तारुढ गठबन्धनले वडास्तरीय चुनावी भेला गरिरहेका छन्।
स्वतन्त्र उम्मेदवारले प्रचार–प्रसारसँगै मतदाता शिक्षालाई अघि बढाएका छन। व्यवसायी हमाल अघिल्लो निर्वाचनमा नगर प्रमुखमा दोस्रो स्थानमा रह“दै पराजित भएका थिए। सो निर्वाचनमा पराजित भएपछि विवेकशील साझा पार्टीको प्रदेश संयोजकको जिम्मेवारी लिएका हमालले पार्टी परित्याग गरेर स्वतन्त्र रुपमा उम्मेदवार बनेका छन्। यद्यपि, उनलाई विवेकशील साझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको समर्थन छ।
२०४६ को राजनीतिक परिवर्तनपछि भएको पहिलो स्थानीय चुनावमा धनगढीमा नेपाली कांग्रेसले प्रमुख, उपप्रमुखसहित अधिकांश वडामा जित हासिल गरेको थियो। २०५४ सालमा भएको निर्वाचनमा भने नेकपा एमाले विजयी भएको थियो।
धनगढी उपमहानगरपालिकासहितको तत्कालीन क्षेत्र नम्बर ३ मा २०४८ सालको आम निर्वाचनमा कांग्रेस विजयी भएको थियो भने २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा एमालेले जितेको थियो।
२०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः कांग्रेसले जित हासिल गरेको थियो। पहिलो संविधानसभा सदस्य निर्वाचन (२०६४) मा धनगढीसहितको क्षेत्र नम्बर ६ बाट माओवादी केन्द्र विजयी भएको थियो।
संविधानसभाको दोस्रो निर्वाचन (२०७०) मा क्षेत्र नम्बर ६ बाट कांग्रेस सभापति शेरबहादुर देउवा विजयी भएका थिए। उक्त निर्वाचनमा देउवा डडेलधुुराबाट पनि निर्वाचित भएका थिए।
निर्वाचनपछि देउवाले यो क्षेत्र छाड्दा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसकै पुस्करनाथ ओझा विजयी भएका थिए। त्यस्तै, २०७४ सालको संघीय निर्वाचनमा धनगढीसहितको क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका उम्मेदवार नारदमुनि राना विजयी भएका थिए।
यस्तो छ २०७४ को मतपरिणाम
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा ५४ हजार ६५६ मत खसेको थियो भने एक हजार दुई सय मत बदर भएको थियो। त्यतिबेला कांग्रेसका उम्मेदवार नृपबहादुर वड १४ हजार ३२४ मत प्राप्त गरी नगर प्रमुखमा निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार गोपाल हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए।
नेकपा एमालेबाट उम्मेदवार रहेका दुर्गाप्रसाद जोशीले ९ हजार ९४६ मत प्राप्त गरेका थिए। त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले १० हजार २०९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुबहादुर साहुले ८२९, तत्कालीन मधेसी जनअधिकार फोरमका उम्मेदवार प्रेमकुमार बिसीले ४५९ र जनमोर्चाका कृष्णप्रसाद चौधरीले २३६ मत प्राप्त गरेका थिए।
करिब १७ हजार मतदाता थपिए
पछिल्लो पा“च वर्षमा धनगढी उपमहानगरपालिकामा झण्डै १७ हजार मतदाता थपिएका छन्। २०७४ सालको निर्वाचनयता धनगढी उपमहानगरपालिकामा १६ हजार ७२१ मतदाता थप भई ९६ हजार १५१ पुगेका छन्। आगामी निर्वाचनका लागि उपमहानगरपालिकामा ४५ हजार ९२४ महिला, ४७ हजार २२४ पुरुष र तीन जना तेस्रो लिङ्गी मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।
२०७४ को निर्वाचनमा ३८ हजार पा“च सय ६१ महिला, ३७ हजार ८८६ पुरुष र तीन जना तेस्रो लिङ्गी गरी ७६ हजार ४३० मतदाता थिए। त्यसमध्ये उपमहानगरपालिकामा कूल मतदाताको ८७ दशमलव ११ प्रतिशत मत खसेको थियो। खसेको कूल मतमध्ये दुई दशमलव १९ प्रतिशत बदर भएको थियो।
धनगढी उपमहानगरपालिकामा २०७४ सालको निर्वाचनमा ३३ वटा मतदान स्थल र ८६ वटा मतदान केन्द्र रहेकोमा यो पटकको निर्वाचनमा ३४ मतदानस्थल र १०४ केन्द्र रहने आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।