काठमाडौं– निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरू बुधबार दिउँसो राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका थिए।
भेटमा प्रमुख निर्वाचन थपलियाले आयोगले माघ २५ गतेदेखि निर्वाचन कार्यतालिका स्वीकृत गरी सोही बमोजिम काम थालेको र अहिले तयारीको काम अन्तिम चरणमा पुगेको राष्ट्रपतिलाई जानकारी गराए।
उक्त अवसरमा राष्ट्रपति भण्डारीले आयोगको तयारी सन्तोषजनक रहेको र स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको विश्वास व्यक्त गरिन्।
तर, निर्वाचन सुरक्षा प्रबन्धमा विशेष संवेदनशील हुन तथा मतदाताहरूले आफूले रोजेको उम्मेदवारलाई निष्पक्ष र निर्वाधरुपमा मतदान गर्न पाउने हक अधिकारलाई सबै क्षेत्रबाट सम्मान गर्ने उपयुक्त वातावरण बनाउन आयोग चनाखो रहनुपर्ने सुझाव दिइन्।
आयोगले स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा मत संकलन गरेर निष्पक्षताको प्रत्याभूतिसहित निर्वाचन सम्पन्न गर्ने तथा मतपरिणाम प्रकाशित गर्ने कुरामा विशेष ध्यान दिनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।