काठमाडौं– भुवन केसी अभिनयमा नदेखिएको लामो समय भयो। तर, स्थानीय तहको चुनावको छेकोमा उनी राजनीतिमा भने देखिएका छन्। मंगलबार उनले औपचारिक रुपमा नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन्। यो राजनीतिक यात्रामा भुवनको दोस्रो इनिङ हो।
भुवनले २०७०मा औपचारिक रुपमा आफ्नो राजनीतिक यत्रा सुरु गरेका थिए। त्यसअघि कुनै पार्टीतर्फ औपचारिक रुपमा नखुलेका उनले २०७० को संविधानसाभ चुनावको बेलामा एमाले प्रवेश गरे। चुनावी मौसममा एमाले प्रवेश गर्नुमा पदपछि उनको लोभ थियो। उम्मेदवार बन्न उनले टिकट पनि पाए। तर, एमालेभित्रैबाट विरोध भएपछि उनको नाम फिर्ता लिइएको थियो।
भुवनको राजनीतिक यात्राको पहिलो इनिङमा उनी लामो समय टिक्न सकेनन्।
त्यसयता भुवन पर्दामा भन्दा बढी विवादमा छाइरहे। कहिले फिल्मको छायांकनका क्रममा अभिनेत्रीमाथि गरेको दुरव्यवहारको आरोपमा उनी जोडिए त कहिले नातावादको विषयमा।
बीचमा केही समय भुवन राप्रपा निकट भएको पनि चर्चा चल्यो। तर, औपचारिक पुष्टि भएन। स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीबाट मेयर बन्ने हल्ला पनि चल्यो। तर, त्यो हल्ला पनि निराधार भएको केसीले सामाजिक सञ्जालबाट लामो स्टेटस लेख्दै बताए।
तर, उक्त स्टेटसमा आफू कुनै राजनीतिक पार्टीतर्फ नखुलेको उल्लेख गरेका केसी केही साता नबित्दै कांग्रेस प्रवेश गरेका छन्। कांग्रेसबाट अब सुरु भएको उनको राजनीतिक करिअरको दोस्रो इनिङ कतातर्फ जान्छ भन्ने हेर्न बाँकी नै छ।
सत्तारुढ दल कांग्रेसमा भुवन चलचित्र विकास बोर्डको अध्यक्ष पदको लोभमा प्रवेश गरेको हल्ला पनि चलेको छ। केसी आफैंले भने सरकारले जिम्मा दिएमा बोर्डको नेतृत्व गर्ने बताएका छन्। यसअघि तत्कालिन विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधनपछि पनि केसी बोर्डको अध्यक्ष पदमा जान दाबेदारी दिएका थिए। त्यत्तिबेला एमाले निकट रहेका केसीलाई ‘बालुवाटार दाहिना’ भएन्। पद दयाराम दाहालले पाए।
भुवनको दोस्रो राजनीतिक इनिङ पदको लोभले सिर्जित अवस्था हो वा पार्टीले चुनावी मौसममा कलाकारलाई विगतदेखि नै प्रयोग गर्दै आएको परम्पराको निरन्तरता हो, त्यो त भविष्यले देखाउनेछ। तर, भुवनको यो इनिङ कति समयसम्म चल्छ भन्ने चाहिँ रोचक हुने देखिन्छ। हेरौं, उनको यात्रा कहाँ पुगेर टुंगिन्छ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।