काठमाडौं– देशभर स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ। देशभरका ७५३ स्थानीय तहमध्ये यतिबेला सबैभन्दा बढी चर्चा भरतपुर र काठमाडौं महानगरपालिकाको भइरहेको छ।
महानगर, उपमहानगरको चर्चासँगै धेरैको चासो भएको अर्को स्थानीय तह हो काभ्रेको मण्डनदेउपुर। किनभने यो नगर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा सबैभन्दा बढी चर्चा र विवादमा आएका मन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्र हो।
बाँस्कोटा एमाले पोलिटब्युरो सदस्य हुन्। उनको नगरपालिकामा २०७४ सालमा एमालेले मेयरसहित बहुमत वडामा जितेको थियो। १२ वटा वडा रहेको नगरपालिकामा एमालेले अघिल्लो निर्वाचनमा ८ वटा वडामा जितेको थियो। कांग्रेसले ४ वटा वडामा जितेको थियो।
तर अहिले अवस्था फेरिएको छ। २०७४ को तुलनामा अहिले नेकपा एमाले फुटेर दुई वटा पार्टी भएको छ। जसका कारण एमाले अहिले नगरपालिकामा उपमेयरसहित तीन वटा वडामा मात्र सीमित भएको छ।
नगरपालिकाका मेयरसहित पाँच वटा वडाका अध्यक्ष नेकपा एकीकृत समाजवादीमा छन्। अघिल्लो निर्वाचनमा मेयर जितेका टोकबहादुर वाइबा समाजवादीमा छन्। उनी यसपटक पनि समाजवादीबाट मेयरका उम्मेदवार बनेका छन्।
एमालेलाई अर्को चुनौती छ, स्थानीय निर्वाचनमा यसपटक सत्तारुढ दलहरुको गठबन्धन। गठबन्धनका तर्फबाट समाजवादीका वाइबा मेयरका उम्मेदवार हुन् भने उपमेयरमा नेपाली कांग्रेसका विष्णुमणी नेपाल उम्मेदवार छन्। नगरपालिकाका वडाहरुमा पनि समाजवादी र माओवादी केन्द्रले धेरै स्थानमा गठबन्धन गरेका छन्।
२०७४ को मतपरिणाम र फेरिएको अवस्था
२०७४ को निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका वाइबाले ७ हजार ६ सय ४६ मत ल्याएर जित हासिल गरेका थिए। त्यतिबेला नेपाली कांग्रेसका अच्युतप्रसाद पौडेलले ६ हजार ३ सय १९ मत पाएका थिए भने माओवादी केन्द्रकी उमेदवार रिता गौतम (ढकाल)ले २ हजार २ सय ५९ मत ल्याएकी थिइन्। गौतम हाल एमालेमा प्रवेश गरेकी छिन्।
अघिल्लो निर्वाचनकाे तुलनामा अहिले अवस्था फेरिएको छ। एमालेबाट जितेका वाइबा समाजवादीमा प्रवेश गरेर मेयरको उम्मेदवार बनेका छन्। उनी एकीकृत समाजवादीका जिल्ला अध्यक्षसमेत हुन्। नगरपालिकामा समाजवादी, कांग्रेस र माओवादीबीच गठबन्धन छ।
२०७४ काे चुनावका आधारमा हेर्दा कांग्रेस र माओवादीको मत एमालेको भन्दा ९३२ बढी देखिन्छ। नगरपालिकामा मेयर तथा बहुसंख्यक वडा अध्यक्षसहितका कार्यकर्ताहरु समेत समाजवादीतर्फ लागेकाले यसपटकको निर्वाचनमा एमालेका धेरै मत समाजवादीले काट्न सकिने देखिन्छ।
अघिल्लो निर्वाचनमा उपमेयरमा पनि एमालेकी निर्मला शाहीले ७ हजार ५०१ मत ल्याएर जित हासिल गरेकी थिइन्। त्यतिबेला कांग्रेसकी राधिका ढकालले ६ हजार १६० मत र माओवादीका निरञ्जन विष्टले २ हजार ५५१ मत ल्याएका थिए।
यस्तै, २०६४ मा भएको संविधानसभा निर्वाचनमा बागमतीबाट एमालेले एउटामात्र सिट जितेको थियो। त्यतिबेला एमालेबाट जित्नेमा कृष्णप्रसाद सापकोटा थिए। सापकोटा पनि त्यही नगरपालिकाका हुन्। तत्कालीन गाविस महासंघको अध्यक्षसमेत भइसकेका सापकोटा पनि समाजवादीमा छन्। यसले पनि मण्डनदेउपुरमा एमालेलाई थप क्षति पुग्ने देखिन्छ। यसपटकको निर्वाचनमा एमालेले नगरपालिकाको मेयरमा विदुर सापकोटालाई उठाएको छ।
थपिएका मतदाता कति निर्णायक?
यसपटक उक्त नगरपालिकामा करिब ७ हजार नयाँ मतदाता थपिएका छन्। जुन जितका लागि निर्णायक हुनसक्ने देखिन्छ। युवा मतदाताहरुले निर्वाचन प्रभावित पार्न सक्ने देखेर गठबन्धन ‘बलियो’ प्रचारमा लागेको छ भने एमाले पनि गठबन्धनलाई निस्तेज पार्ने रणनीतिमा छ।
२०७४ मा मण्डनदेउपुरमा २१ हजार ६ सय २३ मतदाता थिए। जसमा महिला १० हजार ७ सय ४३ र पुरुष १० हजार ८ सय ८० थिए। अहिले २८ हजार ५ सय ३१ मतदाता कायम भएका छन्। जसमा पुरुष १४ हजार ६ सय ४५ र महिला १३ हजार ८ सय ८६ छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।