काठमाडौं- मलेसियाको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ उच्चस्तरीय भेटवार्तामा व्यस्त छन्।
शनिबार मन्त्री श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।
पुत्रजयास्थीत गृहमन्त्रालयमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल– मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।
मन्त्री श्रेष्ठले मलेसियामा रहेका नेपाली सुरक्षागार्ड सहित अन्य श्रमिकको सेवा सुविधा र अधिकारको बिषयमा गृहमन्त्री जैनुदिनसँग छलफल भएको बताए।
श्रेष्ठले नेपाली सुरक्षागार्डको मासिक तलब ३ हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गरे।
नेपाली कामदार मेहनति र इमान्दार हुने चर्चा गर्दै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताए।
नेपाली युवाहरूलाई सीपयुक्त बनाइ थप रोजगारीका अवसरहरू प्रदान गर्ने, शुन्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने वीमा सुविधाको व्यवस्थाबारे पनि उनीहरुबीच छलफल भएको थियो।
नेपालमा सुरक्षा गार्ड सम्वन्धि तालिमको व्यवस्था गरी सीपयुक्त बनाउनेबारे समेत उनीहरुबीच छलफल भएको थियो। नेपालबाट सुरक्षागार्डमा जानेहरूमा पूर्वसेना वा पूर्वप्रहरीका साथै आधारभूत तालिम लिएका युवाहरु छन्।
पूर्वगोर्खा ब्रिटिश सैनिकको प्रभावका कारण मलेसियामा गोर्खा गार्ड्सका रूपमा नेपालीप्रति उच्च सद्भाव रहेकोले समयानुकुल तालिम दिएर व्यावसायिक विकास गर्नेतर्फ ध्यान दिनुपर्ने भेटवार्तामा सहभागि मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए।
छलफलमा भएका विषयलाई औपचारिकता दिन छिट्टै द्विपक्षीय समझदारी हुनेछ। भेटवार्तामा कार्यवाहक राजदूत मोतिबहादुर श्रीस पनि सहभागि थिए।
यसअघि मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी सेरी एम सराभननसँग गरेको द्विपक्षीय बैठकमा श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको थियो।
साथै नेपाल र मलेसियाबीच संयुक्त कार्यदलको तेस्रो बैठक छिटै काठमाडौंमा गर्ने सहमति पनि भएको छ ।
मन्त्री श्रेष्ठको नेतृत्वमा भएको उच्चस्तरीय टोलीले मलेसियास्थित सामाजिक सुरक्षा संस्था (सोस्को) समेत भ्रमण गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।