काठमाडौं— भुवन केसी कुँवरले आगामी स्थानीय तहको निर्वाचनमा कञ्चनपुरको भीमदत्त नगरपालिकाको उपमेयरका लागि उम्मेदवारी दर्ता गरेकी छिन्। सामाजिक क्षेत्रमा काम गरिरहेकी उनी उनी नेकपा (एमाले) को वडा कमिटीदेखि संगठित हुँदै राजनीतिमा अघि बढेकी हुन्।
उनी वडाबाट इलाका कमिटी हुँदै अहिले एमालेको जिल्ला कमिटी सदस्य छिन्। अहिले पार्टीको जनवर्गीय संगठन बुद्धिजीवी परिषद्को सचिव भइन्। राजनीतिमा झन्डै दुई दशकको संघर्षपछि उनले जनप्रतिनिधि बन्ने अवसर पाएकी हुन्।
उनको विवाह २०५६ सालमा कञ्चनपुरका रवीन्द्र कुँवरसँग भएको हो। त्यसपछि पारिवारिक विरासतका कारण पनि राजनीतिमा आइन्। श्रीमान् रवीन्द्र पनि सक्रिय राजनितिमा छन्। ससुरा सूर्यबहादुर २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन महेन्द्रनगर नगरपालिकाको मेयर निर्वाचित भएका थिए। उनी महेन्द्रनगरको पहिलो मेयर हुन्। त्यसअघि कञ्चनपुरमा नगरपालिका थिएन। साविकको महेन्द्रनगर नगरपालिकालाई २०६२/६३ पछि भीमदत्त नगरपालिका बनाइएको हो।
उनी ससुरा सूर्यबहादुरलाई नै आफ्नो राजनीतिको प्रेरणाको स्रोत मान्छिन्। सूर्यबहादुरले इमान्दार र स्वच्छ छवि भएको नेताको छवि बनाएका थिए। उनको २०५९ सालमा नै निधन भइसकेको छ।
विवाह हुँदा उनी स्नातक पढ्दै थिइन्। ससुराकै प्रेरणाले आफूले पढाइ रोक्नु नपरेको उनको भनाइ छ। उनले भारतको कुमाऊ विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन्।
यसअघि उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नै उम्मेदवार बन्ने तयारीमा थिइन्। तर, त्यो बेला उनले मौका पाइनन्। राजनीतिमा मौका नपाए पनि सामाजिक सेवामा भने उनी सक्रिय भइरहिन्।
उनको सामाजिक न्याय र सुशासन विज्ञ भएर काम गरेको दुई दशकभन्दा बढी भैसकेको छ। उनी भन्छिन्, ‘सामाजिक क्षेत्रमा लामो समय काम गरिसकेँ। बाँकी दिनमा राजनितिको माध्यमबाट सेवा गर्न निर्वाचनमा होमिएको हुँ। किनभने सामाजिक र सुशासनको क्षेत्रमा काम गर्दा धेरै कठिनाइ आए। राजनीतिको निर्णायक तहमा नपुगुन्जेल त्यस्ता चुनौती पार लगाउन सकिँदैन भन्ने बुझेपछि यता आएकी हुँ।’
नीति, नियम र योजना राजनीतिले बनाउने हुँदा मूल नै सफा गर्नुपर्ने उनको भनाइ छ। उनले राजनीतिबाहिरबाट पनि गरिबी, बेरोजगारी, अशिक्षा, अन्धविश्वास, महिला हिंसा, बालविवाहजस्ता विकृति हटाउन संघर्ष गरेकी छिन्। अब राजनीतिक तहबाट यस्ता विकृतिमा प्रहार गर्ने आफ्नो योजना भएको उनको भनाइ छ।
सामाजिक न्याय र सुशासनमा दुई दशक
२०५४ सालमा स्थानीय तहको निर्वाचन हुँदै गर्दा उनी आफ्नो नयाँ अभियान सुरु गर्दै थिइन्। त्यस साल स्थापना गरेको नारी उत्थान केन्द्रलाई उनले २०५५ सालमा कानुनी रूपमा नै दर्ता गरिन्। यो संस्था उनले महिला हक अधिकारको पक्षमा काम गर्न खोलेकी थिइन्।
सामाजिक, राजनीतिक र आर्थिक रूपमा पछाडि परेको क्षेत्रमा समाज सेवा गर्न त्यति सहज थिएन। महिलाका सवाल उठाउन सहज वातावरण थिएन। देश द्वन्द्वमा थियो। जनयुद्धको सेरोफेरोमा उनले मानव अधिकार रक्षाका सवालमा महत्त्वपूर्ण काम गरिन्। उनीसँग सामुदायिक प्रहरी सेवा केन्द्र, नारी उत्थान केन्द्र, शान्तिका लागि साझा अभियान (कोक्याप) र कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) मा काम गरेको अनुभव छ। २०६१ सालतिरको चुनौतीपूर्ण समयमा उनी सेलर्डको जिल्ला प्रशिक्षक थिइन्।
अप्ठ्यारो समयमा पनि उनी काममा दत्तचित्त भएर लागिरहन्। त्यसैले उनले कञ्चनपुर जिल्लामा छुट्टै परिचय बनाइन्। उनले सुरु गरेको ‘लामो रेस’कै कारण अहिले ‘सुशासन विज्ञ’को परिचय बनाएकी छिन्।
उनले संघीय सरकारको सहयोगमा यूएसएआईडी परियोजनामा ‘सपोर्टर टु फेडरालिजम’मा भीमदत्त नगरपालिकाको संयोजक भएर दुई वर्ष काम गरिसकेकी छन्। नगरपालिकामा रहेर संघीयता र स्थानीय तह सम्बन्धी काम गरेकी छन्। यसैका कारण उनलाई एमालेले उपमेयरमा उम्मेदवार बनाएको उनको भनाइ छ।
उनले न्यायका क्षेत्रमा पनि मध्यस्थकर्ताको रुपमा काम गरेकी छन्। सामान्य खालका मुद्दा अदालत पुग्नुअघि छलफल र मेलमिलापद्धारा छिनोफानो गराउन उनी सक्रिय छिन्। महिला हिंसा, बालविवाह, जातीय छुवाछुत, छाउपडी, बोक्सीको आरोप, कमलरी, हलिया प्रथा र अशिक्षाले ग्रस्त ठाउँमा आफु निर्णायक भएर काम गर्ने उनी बताउँछिन्।
नागरिक शिक्षा, स्वास्थ्य बीमा, बेरोजगारीको अन्त्य, आवासविहीनहरुलाई आवास, न्यायमा महिला र सीमान्तकृत समुदायको पहुँच, स्थानीय सरकारमा सुशासन आफ्नो प्रमुख एजेन्डा भएको उनले बताइन्। समाजमा रहेका कुप्रथाविरुद्ध पनि योजना बनाएर काम गर्ने उनको लक्ष्य छ। ‘मेरो पहिलो प्राथमिकतामा महिला, बालबालिका र सीमान्तकृत जनता नै हुन्,’ उनी भन्छिन्, ‘जुन समुदायका समस्या देखेर यहाँसम्म आएँ, त्यसैको समाधान खोज्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।