काठमाडौं—सुनिता डंगोल सन् २०११ को मिस नेवा: विजेता हुन्। वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेसँगै उनी चर्चामा छिन्।
महानगरको विकाससँगै फोहोरबाट ऊर्जा उत्पादन गर्ने प्रविधिको प्रयोग गरेर यसको उचित व्यवस्थापन गर्न र महानगरका सम्पदा निर्माण तथा संरक्षणका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको उनी बताउँछिन्। अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन रन्जना लिपिलाई नवीन सोचका साथ विश्वभरका नेपालीलाई सिकाउने अभियान पनि चलाएकी छिन्। उनी लिपी क्वीनको उपनामले समेत चिनिन्छिन्।
विभिन्न कार्यक्रमहरुको संचालन, मोडरेट गर्दै आएकी उनी नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्छिन्। जापान, कोरिया, जर्मनीलगायत एक दर्जन मुलुकको भ्रमण गरी नेपालको संस्कृतिलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा प्रचार गरेको उनी बताउँछिन्।
आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी घोषणा गरेसँगै उनले आठ खम्बे विकास मोडेल सार्वजनिक गरेकी छन्। मुख्यतः स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रुपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद, रोजगार उद्यमशिलता र रिसर्च एन्ड डेभ्लपमेन्टका विषयलाई उनले उठाएकी छन्।
०००
र्यापर तथा इन्जिनियर बालेन शाहले स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरे। चुनावमा अन्य राजनीतिक दलहरुबीच कसलाई उम्मेदवार बनाउने बहस भइरहँदा उनको यस्तो घोषणाले शुभचिन्तक पनि आश्चार्यमा परे। उनले आफनो उम्मेदवारी राजनीतिकभन्दा पनि विकासका लागि भएको बताउँदै आएका छन्।
‘व्यवस्था फेरिए, व्यक्ति फेरिए तर जनताको अवस्था फेरिएको छैन,’ चुनाव प्रचारप्रसारमा व्यस्त शाह भन्छन्। संघीय राजधानी काठमाडौंलाई स्थानीय निर्वाचनमा सर्वाधिक चासो र महत्त्व बोकेको स्थान हो। संघीय राजधानी भए पनि विकास निर्माण सही रुपमा हुन नसकिरहेको उनी बताउँछन्। अव्यवस्थित सहरीकरण, यातायातसहित शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विषयमा महानगरबासी सन्तुष्ट हुन सक्ने अवस्था छैन।
राजनीतिक नेतृत्वले महानगरमा विकास र समृद्धि ल्याउन नसकेको शाहकाे भनाइ छ। राजनीतिक दलले केही गर्न नसकेको विगत ३० वर्षदेखि आफूले देखिरहेको उनको भनाइ छ। स्थानीय सरकारमा गएकाहरुले स्थानीयस्तरको विकासभन्दा कार्यकर्ता र नेताको लागि काम गर्ने गरेको उनको आरोप छ। त्यसलै, दलबाट टिकट लग्नु भनेको ‘नुनको सोझो गर्नु’ भएको उनी बताउँछन्।
'पार्टीको टिकटमा उठ्नु र जित्नु भनेको नुनको सोझो गर्नु हो' उनले भने, 'स्वतन्त्र भएर गएपछि कार्यकर्ता भन्दा जनताप्रति, जनप्रतिनिधि उत्तरदायी हुन्छन्। त्यसैले मैले स्वतन्त्ररुपमा उम्मेदवारी दिएको हुँ।'
कतिपय देशमा स्थानीय सरकारमा दलबाहेकका स्वतन्त्र व्यक्ति आउने गरेका छन्। त्यसैले जनताको नजिकको सरकार स्थानीय सरकारमा राजनीतिक कार्यकर्ता भन्दा पनि विकास गर्ने व्यक्ति आवश्यक भएको उनको धारणा छ। दलको कार्यकर्ता भर्ने ठाउँ स्थानीय सरकार नभएको उनी बताउँछन्।
काठमाडौं महानगरपालिकामा ३२ वडा छन्। प्रत्येक वडामा स्वास्थ्य परीक्षणका लागि क्लिनिक राख्ने, महानगरमा रहेका ९१/९२ सरकारी विद्यालयलाई गाभेर ४०/४५ वटा बनाउनु पर्ने शाहको भनाइ छ। ती विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गरिने उनी बताउँछन्।
काठमाडौं महानगरपालिकामा दैनिक ६ मेट्रिक टन फोहोर उठ्छ। फोहोरलाई धेरैबाट थोरै मात्रा बनाउने मेसिन जडान गर्ने र हालको यो समस्याका लागि जतिसक्दो फोहोरलाई मोहोर बनाउने उनको योजना छ।
बजार व्यवस्थापनका लागि र सुरक्षाका लागि सीसीटीभी जडान गर्ने, ट्राफिक समस्या कम गर्नका लागि बजार पूरैलाई एकैपटक नखुलाउने उनको योजना छ। जस्तै सुन पसल दिउँसो १२ बजेपछि मात्र खोल्ने, फरक-फरक समयमा फरक-फरक व्यवसायका लागि पसलहरु खोल्ने व्यवस्था मिलाउन सके पनि सडक जामलाई व्यवस्थापन गर्न सहयोग पुग्ने उनको विचार छ। डिजेल, पेट्रोल लगायतका सवारीसाधनलाई विस्थापन गरी विद्युतीय सवारी चलाउनु पर्ने उनी बताउँछन्।
उनले आफू विजयी भए भौतिक पूर्वधार विकासमा जोड दिने योजना रहेको बताए। स्वच्छ खानेपानीका लागि पहल गर्ने, सम्पदालाई यहाँको आर्थिक र जनजिविकासँग जोड्ने आफ्नो प्रयास रहने उनी बताउँछन्। सम्पदालाई जीवनशैलीसँग जोडेर पर्यटक भित्रयाउन सके राष्ट्रलाई फाइदा पुग्ने उनको विश्वास छ। शिक्षा, स्वास्थ र युवा रोजगारीलाई प्राथमिकताका साथ अगाडि बढाउने उनका योजना छन्।
०००
पोखरा महानगरपालिकामा लेखक गनेश पौडेलले अटेरी समूहबाट मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। अघिल्लो स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने सोचेका उनले निर्णय लिने अवस्था आइनसकेको मूल्यांकन गरे। 'अझ स्पष्ट भन्दा आँट गरिनँ' उनले नेपाल लाइभसँग भने, 'अहिले सोच्दा लाग्छ, मैले ठिकै गरेको रहेछु। लोकतन्त्रमा स्वतन्त्र उम्मेदवारी किन चाहिन्छ भन्ने विवेचनाको सार्थकता अघिल्लो पटकमा भन्दा यसपटक ज्यादा स्पष्ट भएको छ।'
आफूले समयमै अटेर गरेर स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको उनको भनाइ छ। 'बेथितिले हरेक मानिसलाई पोल्छ र विद्रोह अस्तित्वमा आँउछ। मेरो हकको विद्रोह भनेको राजनीतिक अटेरी हो। त्यो अटेर गर्ने आँट मैले यसपटक गरेको छु र मलाई लाग्छ, समयमै अटेर गरेको छु' उनी भन्छन्।
वैशाख ३० का लागि निर्वाचन घोषणा भए लगत्तै उम्मेदवारी घोषणा गरेका पौडेलले कार्ययोजनापत्र सार्वजनिक गरेका छन्। ३२ पेज लामो पोखरा लक्ष्य —२०७९ (कार्ययोजना पत्र) सार्वजनिक गरेका उनले पोखरा महानगर विकासको खाका प्रस्तुत गरेका छन्।
पोखरा महानगरपालिका नागरिकको चासो र आवश्यकता अन्तर्गतः शिक्षा, स्वास्थ्य, अतिक्रमण, सुकुम्वासी समस्या, अनियन्त्रित बसोबास, खुला ठाउँको अभाव, दुर्व्यसनी, घरजग्गा कर, पहिचान वितरण, पर्यटन, सडक तथा यातायात, संरक्षण, सामाजिक एकता, आम्दानी, उपभोक्ता अधिकार, सुरक्षा, पार्कहरु लगायतका विषय उनले चुनावी घोषणापत्रमा उल्लेख गरेका छन्। पौडेलले चारवटा अजेण्डालाई अघि सारेका छन्। जसमा पहिचानमा सुशासन, सर्वसुलभ र गुणस्तरीय शिक्षा, सामुदायिक स्वास्थ्य र पर्यटनलाई मुख्य रुपमा राखेका छन्।
०००
‘परिवर्तन र रुपान्तरण हाम्रै पालामा आश्वासन वा प्रतिवद्दता, यसपाली नागरिकले छुट्याउनेछन्। हाम्रो अभियानमा हजुरहरुको सहयोग अपरिहार्य छ’ भन्ने मूलनाराका साथ राजन कोइरालाले नार्गाजुन नगरपालिकामा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
अमेरिकामा रहेर नौ वर्षसम्म पत्रकारिता गरेका कोइरालाले नेपाल दृष्टी, नयाँ सोच नयाँ प्रयास, होमल्याण्डखबर र मेरोजब डटकममा पनि काम गरेका छन्। मेरोजब डटकमबाट राजीनामा दिएर उनी मेयरको लागि प्रचारप्रसारमा होमिएका छन्।
आफ्नो माटो, आफ्ना नाता–कुटुम्ब, परिवेश र साथी–भाइ कोइरालाका मनमा अट्ने महत्त्वपूर्ण तत्व हुन्। अमेरिकाको प्रवासी जीवन बिताएर २०६९ सालमा नेपाल फर्केका कोइरालाले धेरै कुरा गुमाइसकेको भान भयो। प्रदूषित माटो, भविष्यको खोजीमा विदेश पलायन भएका युवाहरु, पाश्चात्य संस्कृति हाबी भएको समाज, बिल्कुल नयाँ भएको उनलाई लाग्छ।
राष्ट्र बदल्न आफू स्पष्ट हुनुपर्ने धारणा बोकेर युवाका समस्या नजिकबाट नियाल्न कोइराला अध्ययन गर्न थाले। रोजगारीको क्षेत्रमा स्थापित मेरोजब डटकम र इडियुसञ्जाल जस्ता संस्थासँग प्रत्यक्ष आठ वर्ष काम गर्ने क्रममा शिक्षा प्रणाली र रोजगारदाता बीचको अन्तर उनले पत्ता लगाए।अहिलेसम्म ५० हजार बढी युवाहरुलाई तालिम दिइसकेका कोइराला विभिन्न युवाहरुले संचालन गरेका एक दर्जन संस्थामा सल्लाहकार, मेण्टर, अतिथी प्रशिक्षकका साथ–साथै अन्य स्वयंसेवी भूमिकामा छन्।
सयौं प्रतिस्पर्धात्मक कार्यक्रममा कतै निर्णायक त कतै सहजकर्ता भएका उनले नेपालमा अनवरत् युवाको क्षेत्रमा काम गर्दै आएका छन्। संस्था हाकेको अनुभवलाई कोइराला यतिबेला महानगरमा लागू गर्न कम्मर कसेर लागेका छन्। ‘स्थानीय तहलाई दलियकरण गर्नु हुँदैन। जब स्थानीय तह दलगत बन्दै जान्छ चुनावी प्रतिस्पर्धा झन् खर्चिलो हुँदै जान्छ' स्वतन्त्र उम्मेदवार बन्नुका कारणबारे उनी भन्छन्, ' राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधि पनि जनताको विकासभन्दा कार्यकर्ता र नेताको पछि लाग्छन्। स्थानीय तहमा विकास चाहिएको हो, राजनीति होइन।'
विश्वको अभ्यास हेर्दा मेयर/उपमेयरमा दल भन्दा फरक क्षेत्रका व्यक्ति आउने गरेको उनी बताउँछन्।यो पद आफैमा शक्तिशाली भएको र यसमा रहेर विकास गर्न सक्ने उनको भनाइ छ। 'जो क्षमतावान् छ, त्यो व्यक्ति नै मेयर बन्ने परिपाटी छ।'
तर, नेपालमा यस्तो सोचको विकास हुन नसकिरहेकोमा उनी दुखी छन्। नेता दुई प्रकारको हुने उनको विचार छ। पहिलो, रणनीतिक र दोस्रो कार्यकारी नेता। क्षमतावान्, भिजन भएको व्यक्तिलाई नेपालले खोजेको हुँदा आफूले स्वतन्त्र उम्मेदवारी दिन खोजेको उनको भनाइ छ।
नगरपालिकामा स्थानीय विकास (सडक–निर्माण तथा स्तरोन्नति, खानेपानी, ढल–व्यस्थापन लगायत) का कार्यक्रम तिव्रगतिमा अघि बढाउने उनको योजना छ। फोहोर–मैला व्यवथापनमा नयाँ प्रविधिको विकास गरेर नगरपालिकालाई स्वच्छ र हराभरा राख्ने उनको प्रतिबद्धता छ।
नगरपालिकाका हरेक घरलाई एड्रेस लोकेटर प्रणालीमा राखेर हुलाकी माध्यमको विकास गर्ने र स्थानीय सरकारसँगको सूचना–प्रवाहमा सहजताको माहोल शृजना गर्ने उनी बताउँछन्।
नगरपालिकाको सम्पूर्ण प्रशासनिक कार्यलाई डिजिटल बनाएर नागरिक सुविधामा प्रभावकारिता स्थापना गर्ने उनको योजना छ। नगरपालिकाका धार्मिक, पर्यटकीय, सांस्कृतिक, सामुदायिक र प्राकृतिक सम्पदाको सूचीकरण गरेर संरक्षण तथा प्रवर्धनका कार्यक्रम संचालन गर्ने उनी बताउँछन्।
नगरपालिकामा बसोबास गर्ने जातीय, धार्मिक एवं सांस्कृतिक विविधतालाई समेटेर बालबालिका, अपाङ्ग र जेष्ठ नागरिकहरुको लागि सुलभ शिक्षा, स्वास्थ्य र मनोरन्जनका विभिन्न समावेशी कार्यक्रम (बीमा, छात्रवृति, सामुदायिक भवन, पुस्तकालय, पार्क) संचालन गर्ने योजना कोइरालाले बनाएका छन्।
०००
कैलाली कैलापुरका २१ वर्षीय उदय भाटले पनि स्थानीय तहको चुनावमा मेयरमा उम्मेदवारी घोषणा गरेका छन्। लम्कीचुहा नगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका उनी विभिन्न सामाजिक कार्यमा संलग्न छन्। भाटले लम्की चुहामा नै नमूना अध्ययन गृह सञ्चालन गरेका छन्। जहाँ ६२ जना बालबालिका नि:शुल्क अध्ययनरत छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर पाँच वर्ष स्थानीय सरकार हाँकेका प्रतिनिधिले गरेको विभेदका कारण आफूले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेको उनले बताए। दलबाट प्रतिनिधि निर्वाचित हँदा जनता विभेदमा परेको उनको भनाइ छ। आफ्नो पार्टी पक्षधरबाहेकमाथि जनप्रतिनिधिले विभेद गरेको उनलाई लाग्छ। त्यसैले उनी दलगत भन्दा पनि स्वतन्त्र व्यक्तिले चुनाव जित्नु पर्ने बताउँछन्।
अबको स्थानीय सरकार दलमुखी भन्दा पनि विकास र जनतामुखी हुनुपर्ने उनी बताउँछन्। लम्की बहुमुखी क्याम्पसमा बीबीएस चौँथो वर्षमा अध्ययनरत भाट समाजसेवाका क्षेत्रमा पनि सक्रिय छन्।
४/५ वर्षदेखि स्थानीय स्तरमा दुःखि, गरीब, असहायलाई सहयोग गर्न उनी खटिरहेका छन्। स्थानीयको गारो/सारो, अप्ठ्यारोमा जे सकिन्छ, सहयोग गर्न पहल र नेतृत्व लिएको उनी बताउँछन्। ‘यो स्वयंसेवी हिसाबले बाहिरबाट गरिएको नागरिकको जिम्मेवारी हो। कति मागेर मात्र समाजसेवा गर्ने? अहिले राज्यको स्रोत साधन दुरुपयोग भइरहेको छ, त्यसको सदुपयोग गरेर जनता र समाजको हितमा काम गरौ भन्ने हुटहुटीले स्वतन्त्र रुपमा उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ' भाटले भने।
उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगारी, पर्यटन, कृषि, स्वच्छ खानेपानी, सडक बाटो घाटोको विकासलाई अघि सारेका छन्।
०००
सगरमाथा आरोही माया गुरुङ पनि स्थानीय चुनावमा उम्मेदवारी दिने तयारीमा छन्। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी उनले पर्यटन, सामाजिक र सहभागितामूलक विकासका लागि आफू नेतृत्वमा आउन चाहेको बताइन्।
हिमाल आरोही गुरुङ सर्वोच्चको शिखर सगरमाथामा पुगेजस्तै गाउँपालिकामा विजयी भएर त्यो शिखर चुम्न चाहन्छिन्, जहाँबाट आफ्नो स्थानीय तहका नागरिकले लाभ लिन सकुन्।
गुरुङ उनको समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला बनिन्। उनको समुदायमा पनि हिमाल आरोहणमा पनि पुरुषको बाहुल्यता छ। उनी त्यो चुनौती सामान गर्न तयार भइन् र सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न सफल भइन्। त्यसपछि उनको हिमाल आरोहणले झनै गति लियो।
सात महादेशका सात वटै उच्च हिमाल उनले आरोहण गरिन्। यसरी सातै उच्च हिमाल आरोहण गर्ने उनको समूह पहिलो ‘सेभेन समिट्स क्लाइमर्स वुमन टिम’ भएको छ।
उनको टोलीले एशियाको अग्लो सगरमाथा (८,८४८ मिटर), अष्ट्रेलियाको काउजियास्को (६,९६२ मिटर), युरोपको एल्ब्रुज (५,६४२ मिटर), अफ्रिकाको किलिमन्जरो (६,१९४ मिटर), दक्षिण अमेरिकाको अकोन्कागुवा (६,९६२ मिटर), उत्तर अमेरिकाको डेनाली (६,१९४ मिटर) र अन्टार्कटिकाको भिन्सन मसिफ (४,८९२ मिटर) को आरोहण गरेको थियो। यो अभियानका लागि सन् २००९ मा ‘एभरेष्ट वुमन सेभेन समिट्स इको एक्सन’ नामक समूह बनाइएको थियो। उक्त आरोहण दलमा मायासहित साइँली बस्नेत, पुजन आचार्य, आशाकुमारी सिंह, निम्दोमा शेर्पा, पेमा डिकी शेर्पा र चुनु श्रेष्ठ लगायत १० नेपाली महिला आरोही थिए।
आफ्नो क्षेत्रको पर्यटन, सामाजिक र सहभागितामूलक विकासका लागि अध्यक्षमा उम्मेदवारी दिन चाहेको उनी बताउँछिन्। ‘म कुनै पनि पार्टीसँग आबद्ध छैन। पार्टीबाट उम्मेदवारी दिने हैसित पनि छैन। त्यसैले कुनै पार्टीतिर नलागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी हुँ,’ उनले भनिन्।
आफ्नो गाउँ र त्यस क्षेत्रमा आवश्यक विकासबारे जानकार भएकै कारण उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ। ‘शिक्षा र सीप नभएको कारणले गर्दा अहिले धेरै युवा विदेशिनु परेको छ,’ गुरुङले भनिन्. देशको विकास र समाज परिवर्तनमा युवाको भूमिका अग्रणी हुने भएकाले युवा तथा महिलाहरु खुलेर आउनु पर्ने उनी बताउँछिन्।
स्वतन्त्र उम्मेदवारलाई जित्न कति सहज?
स्थानीय तह निर्वाचनमा उम्मेदवारी घोषणा गरेका स्वतन्त्र उम्मेदवारहरुलाई जित्न भने सहज देखिएको छैन। नेपालमा तल्लो तहसम्म राजनीतिक रुपमा मतदाताहरु विभाजित हुने गरेका कारण स्वतन्त्र उम्मेदवारहरुलाई त्यति सहज नदेखिएको हो।
त्यसमा पनि स्वतन्त्र उम्मेदवारहरु निर्वाचनको मिति घोषणा भएपछि उम्मेदवारी घोषणा गरेर प्रचार थाल्छन्। उनीहरुले राजनीतिक दलहरुले उठान गरेका भन्दा पृथक विषयलाई उठान गर्न नसकिरहेको विश्लेषकहरु बताउँछन्।
विश्लेषक राजेन्द्र महर्जन नेपालमा दलतन्त्र हाबी भएकाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाहरुले आफ्नो अजेण्डा स्थापित गर्न नसक्ने बताउँछन्। 'नेपाली मतदातामा दलतन्त्र हाबी छ। स्वतन्त्र उम्मेदवारहरु अजेण्डा स्थापित गर्न सक्दैनन् जसका कारण जित सहज हुन सक्ने सम्भावना न्यून रहन्छ' महर्जन भन्छन्।
अजेण्डाको उठान गर्न नसकिरहेका यस्ता उम्मेदवारले वडास्तरमा भन्दा पनि महानगरपालिका, उपमहानगर वा स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिने गरेका छन्। जहाँ जितका लागि धेरै मतको आवश्यकता पर्ने र स्वतन्त्र उम्मेदवारले त्यस्तो मत एकल रुपमा ल्याउन सक्ने अवस्था नबन्ने महर्जनको भनाइ छ।
भारत लगायतका देशमा स्वतन्त्र उम्मेदवारहरु कुनै सामाजिक अभियान मार्फत वा अजेण्डामार्फत स्थापित भएपछि उम्मेदवार बन्ने र त्यसको प्रभावसमेत मतदातामा पर्ने भएकाले जित्ने गरेको महर्जन बताउँछन् । 'भारतमा स्वतन्त्र उम्मेदवारहरु अभियान मार्फत्, अजेण्डाहरु स्थापित भएपछि आउँछन् तर नेपालमा त्यस्तो देखिँदैन' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।