काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ–सुकले शिष्टाचार भेटघाट गरेका छन्।
गृहमन्त्रालयमा मंगलबार दिउँसो भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको थियो।
भेटमा गृहमन्त्री खाणले भौतिक पूर्वाधार क्षेत्रको विकासमा दक्षिण कोरियाले पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गरे।
उनले उच्च शिक्षा अध्ययन गर्न सानो संख्यामा भए पनि नेपाली विद्याथीहरू कोरिया जाने गरेको र इपीएसको माध्यमबाट रोजगारीका लागि नेपालीहरूलाई कोरिया लगेकोमा दक्षिण कोरिया सरकार, कोरियाली जनता र कोरियाका उद्योगीलाई धन्यवाद दिए।
त्यस्तै पछिल्लो समय नेपालको विविधतायुक्त संस्कृति तथा भूगोलको अवलोकन गर्न कोरियन पर्यटक नेपाल आउने गरेको गृहमन्त्री खाणले बताए।
त्यस्तै भौतिक विकास र प्रविधि क्षेत्रमा कोरियाले गरेको ठूलो विकासको प्रशंशा गर्दै गृहमन्त्री खाणले कोरियन गाडी, मेसिनहरू र मोवाइललगायतका कोरियन प्रविधियुक्त सामानहरू नेपालले आयात गरेर उपभोग गरिरहेको बताए।
उनले नेपालमा कोरियन लगानीमा सञ्चालित विकास योजनाहरू निर्वाधरूपमा अघि बढाउने वातावरण सरकारले निर्माण गरिरहको बताए।
भेटमा दक्षिण कोरियाका राजदूत चोङ–सुकले कोभिड–१९ का कारण रोकिएको ईपीएस अब सुचारु हुने चरणमा रहेको जानकारी गराए। त्यस्तै कोभिडकै कारण कोरियन पर्यटक पछिल्ला वर्षमा कम भएको र अब पुरानै अवस्थामा कोरियन पर्यटक नेपाल आउने सम्भावना बढेको राजदूत चोङ–सुकको भनाइ थियो।
अब वर्षमा करिब ३० हजार कोरियन पर्यटक नेपाल आउने आकलन राजदूतावासले गरेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।