काठमाडौं- सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।
आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए।
वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्न/देख्न सकिने उनले बताए।
अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५–२० वटा उल्का खसेको देख्न सकिनेछ। ‘थ्याचर’ नामक पुच्छ्रेताराले छोडेका धुलाका कण पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नष्ट हँदा यो उल्का वर्षा देखिने गर्दछ। ‘थ्याचर’पुच्छ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ।
पुच्छ्रेताराल वा धुम्केतुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धुलाका कण छोड्ने गर्छन्। जुन लाखौँ किलोमिटरसम्म फैलिन सक्छन्। यसरी फैलिएका धुलाका कणले सूर्यलाई परिक्रमा गरिरहेको हुन्छ।
परिक्रमा गर्ने क्रममा जब यी धूलाका कणहरु पृथ्वीको वायुमण्डलमा ठोकिन्छन् तब उल्का देखिन्छ। यदि यस्तो दृश्यमा १० वा सोभन्दा बढी उल्का देखिएमा त्यस्तो घटनालाई उल्का वर्षा भन्ने गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।