काठमाडौं- वैदेशिक रोजगार कार्यालय ताहाचलमा शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरुवात भएको छ।
सरकारले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संस्थागत श्रम स्वीकृति(पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति) अनलाइन प्रणाली लागू गरेको हो। शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन्।
शुभारम्भ कार्यक्रममा बोल्दै श्रममन्त्री श्रेष्ठले सरकारले अहिले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको हक हित भन्दा बाहेक अन्य कुनै पनि निर्णय नगर्ने बताए।
उनले सरकारले संस्थागत रुपमा श्रम स्वीकृति अनलाइन प्रणाली लागू गर्दा मेनपावर कम्पनीका प्रतिनिधिहरुको रोजगारी गुमेको गुनासो आउन थालेको बताए।
मन्त्री श्रेष्ठले मेनपावरका कर्मचारीहरुलाई बेरोजगार बनाउने उद्देश्यले नभएर प्रणालीलाई सिस्टममा ल्याउँदा यस्तो अवस्था आएको दाबी गरे।
वैदेशिक रोजगार कार्यालयहरुले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको काममा ढिला सुस्ति र कसैलाई दुःख दिने कुरा मनैदेखि हटाउन कर्मचारीहरुलाई निर्देशन दिए।
अब सरकारले वैदेशिक रोजगारीसम्बन्धि सबै कामहरु अनलाइन प्रणालीमार्फत् गर्ने तयारीमा मन्त्रालय रहेको मन्त्री श्रेष्ठको भनाइ छ।
‘सरकारले संस्थागत रुपमा श्रम स्वीकृति अनलाइन प्रणाली लागू गर्दा मेनपावर कम्पनीका प्रतिनिधिहरुले रोजगारी गुमेको अवस्था भनेर केही कुराहरु आएको थियो। अहिले मन्त्रालयले एउटै कुरा मात्रै जानेको छ। त्यो भनेको श्रमिकहरुको हक हितको लागि कुनै पनि निर्णय श्रमिकहरुको हक हित बाहेक अन्य हेर्दैनौं' उनले भने।
मेनपावरका प्रतिनिधिहरु अहिले एकदमै अत्तिहाल्नु नपर्ने उनले बताए। यसलाई सिस्टममा ल्याउँदै गर्दा यस्तो पर्न गएको उनको भनाइ छ।
वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणाली लागू भएसँगै सेवाग्राही, मेनपावरका प्रतिनिधिहरुले आफ्नो कार्यालयबाट नै काम गर्न सकिने बताए। कार्यालय प्रमुख अर्यालले चालू आर्थिक वर्षको ९ महिना अर्थात् साउनदेखि चैत मसान्तसम्म ४ लाख ६४ हजार ४ सय २५ श्रम स्वीकृति भएको जानकारी दिए।
सरकारले २०७८ सालको ९ महिना अर्थात साउन देखि चैत मसान्तसम्म ४ लाख ६४ हजार ४ सय २५ श्रम स्वीकृति दिएको छ।गत आर्थिक वर्षमा १ लाख ६६ हजार ९ सय भएको थियो। यो वर्षको ९ महिनामा ३ गुणा बढी श्रम स्वीकृति भएको छ। यसमा पूर्व श्रम स्वीकृति २ लाख १० हजार ५ सय ६७ भएको छ। संस्थागत श्रम स्वीकृति २ लाख २० हजार ४५८ भएको छ। नयाँ व्यक्तिगत श्रम स्वीकृति १५ हजार ६ भएको छ।
वैधानिककरणबाट श्रम स्वीकृति ८ हजार ३ सय ९४ भएको छ । गत माघ महिनाबाट पूर्व श्रम स्वीकृतिलाई अनलाइनबाट सुरु गरेको उनले बताए। श्रम स्वीकृतिको विगतमा चार चरण रहेकोमा अहिले त्यसलाई घटाएर २ चरणमा ल्याएको उनको भनाइ छ। कार्यालयमा कसैका गुनासाहरु आउँदा श्रम डेक्सबाट सुन्न सक्ने बनाएको अर्यालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।