काठमाडौं– बिन्द्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ११ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं. ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९का स्थानिय बासिन्दाहरुका लागि ७ लाख कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको ३ लाख कित्ता सेयर लमजुङ जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरुका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीको सेयर निष्कासन बन्द छिटोमा वैशाख २५ गते हुनेछ भने ढिलोमा जेठ ९ गते हुनेछ। आईपीओमा सानिमा बैंकको बिरौटा तथा पोखरा शाखा, सिभिल बैंकको मालिङ शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेँशीसहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेँसीसहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने बताइएको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।