काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले स्थानीय तवरमा राप्रपासँग पनि तालमेल गर्न सक्ने बताएका छन्। बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले जोसुकैसँग तालमेल हुनसक्ने बताएका हुन्।
आफूहरुसँग कोही स्थानीय तवरमा मिलिहाले भने ठीकै हुने उनको भनाइ छ। राप्रपासँग मिल्ने विषयमा पत्रकारले राखेको जिज्ञासामा उनले भने- 'मिल्न सक्छ, मिल्न सक्छ। राप्रपा पनि मिल्न सक्छ। अरु पनि मिल्न सक्छ।'
राप्रपा र राप्रपा नेपाल दुवैले एमालेसँग तालमेलको सम्भावना व्यक्त गर्दै आएका छन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाले गत चैत १४ गते चितवनमा एमालेसँग कुराकानी भइरहेको बताएका थिए। 'एमालेसँग हामीहरुको प्रारम्भिक चरणको कुराकानीहरु भएको छ', तालमेलको सन्दर्भमा थापाको भनाइ थियो।
एमाले र थापा नेतृत्वको राप्रपाबीच २०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका लगायतका ठाउँमा तालमेल भएको थियो।
विराटनगरमा ओलीले दुईचार जनाको समूह एकातिर र सिंगो एमाले एकातिर भएको बताए। 'देशभक्त, लोकतान्त्रिक शक्ति, विकासको नायक एमाले एकातिर र त्यस विरोधी परमादेशीहरुको गठबन्धन एकातिर। अहिलेको राष्ट्रिय राजनीति त्यही हो', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।