काठमाडौं– गायक पशुपति शर्मा सामाजिक तथा राजनीतिक विषयमा बेला बेला आफ्नो सिर्जनामार्फत् पनि बोलिरहेका हुन्छन्। उनले गाएको‘लुटन सके लुट कान्छा’ बोलको गीतले केही समयअघि राजनीतिक वृतमै निकै चर्चा पाएको थियो।
शर्माले स्थानीय तहको चुनाव नजिकिदैं जाँदा देशका राजनीति पार्टीहरुमा देखिएको प्रवृत्तिलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्। उनले राजनीतिक पार्टीहरुको गठबन्धनको विषयलाई लिएर ‘लाज पचेका’हरुले मात्रै गठबन्धन गर्ने तर्क अघि सारेका छन्। शर्माले मंगलबार सामाजिक सञ्जालमार्फत राजनीतिक पार्टीहरुमाथि कटाक्ष गर्दै लाज पचेकाहरुले गठकबन्धन गर्ने गरेको बताएका हुन्।
सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, ‘लाज पचेकाहरुले हो गठबन्धन गर्ने। सिद्धान्त मिल्नु छैन, विचार मिल्नु छैन्, चुनावी घोषणापत्र आफ्ना आफ्ना छन्, के हो यो गठबन्छन्?’
शर्माले राजनीतिक पार्टीहरुले आफैंमाथि विश्वास नभएको अवस्थामा जनताको विश्वास कसरी जित्ने भन्ने पनि प्रश्न गरेका छन्। उनी लेख्छन्, ‘आफूमा विश्वास छैन भने जनताको विश्वास कसरी जित्छौं? कार्यकर्ता र जनता कति भेडा हुन्छौं सोच्ने बेला भयो अब।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।