काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूलाई सत्ताबाट हटाइएमा विपक्षी सरकारलाई मान्यता नदिने चेतावनी दिएका छन्।
गत बिहीबार संसद् विघटन गर्ने राष्ट्रपतिको अरिफ अल्वीको घोषणालाई गैरकानुनी ठहर गर्दै सर्वोच्च अदालतले प्रधानमन्त्री खानविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गराउन आदेश दिएको थियो।
शनिबार अविश्वासको प्रस्तावमा मतदान हुनुअघि उनले विपक्षी सरकारलाई मान्यता नदिने बताएका हुन्। आफूले सर्वोच्च अदालतको निर्णयलाई आत्मसाथ गरेको भन्दै उनले अविश्वासकाे प्रस्ताव पारित नहुनेमा आफू विश्वस्त रहेको बताए।
संसद्मा आफूविरुद्धको अविश्वासकाे प्रस्तावमाथि मतदान हुनु अघि प्रधानमन्त्री खानले आफूलाई पदबाट हटाउन अमेरिकाले भूमिका खेलिरहेको आरोप लगाए। उनले अहिले देशमा संकट निम्त्याउने काम भइरहेको पनि बताए।
संसद भंग गर्ने निर्णय खारेज गर्दै पाकिस्तानी सर्वोच्च अदालतले ब्युँताएको संसद्को बैठक केहीबेरका लागि स्थगित भएर पुन: सुरु भएको छ। यसअघि सत्तारुढ दल र प्रतिपक्षबीचको झडपपछि सभामुखले राष्ट्रियसभाको बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका थिए।
अब बस्ने बैठकमा खान विरुद्धको अविश्वासकाे प्रस्तावमाथि मतदान हुनेछ। यसैबीच, संसद्मा सभामुखको कक्षमा सत्तारुढ दल र प्रतिपक्षबीच बैठक बसेको छ। यसमा विपक्षी दलले सत्तारुढ दलको छलफलका क्रममा विरोध नगर्ने आश्वासन दिएको छ।
यसैबीच, सत्तारुढ दलका तर्फबाट शाह महमूद कुरैशीले विपक्षी दललाई अविश्वासको प्रस्तावमा मतदान गर्न बेलुका ८ बजे समय दिने बताएका छन्। तर, पाकिस्तानी राजनीतिका विज्ञहरू भने सरकारले आफ्नो वाचाबाट पछि हट्न सक्ने विश्वास गर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।