काठमाडौं– साउदी अरबले यस वर्ष देशभित्र र बाहिरका १० लाख मुस्लिमलाई हज यात्रामा सहभागी हुन दिने भएको छ।
कोरोना संक्रमणका कारण विगत दुई वर्षदेखि निकै संख्यामा हज यात्रामा सहभागी हुन दिइएको थियो। तर, यसपटक कोरोना संक्रमणको घटना घट्दै गएपछि हज यात्रामा सहभागी हुनेहरुको संख्यामा वृद्धि गरिएको हो।
समाचार एजेन्सी एएफपीका अनुसार साउदी अरबको हज मन्त्रालयले भनेको छ,‘यस वर्ष स्वदेशी तथा विदेशी १० लाख मानिसलाई हज गर्न अनुमति दिइएको छ।’
इस्लाम धर्ममा हजलाई धेरै महत्त्वपूर्ण मानिन्छ। यो सामान्यतया विश्वको सबैभन्दा ठूलो धार्मिक मण्डलीहरू मध्ये एक हो। सन् २०१९ मा २५ लाख मानिसले हज यात्रा गरेका थिए । तर, सन् २०२० मा कोरोना भाइरसको महामारी सुरु भएपछि साउदी अधिकारीले १ हजार जनालाई मात्रै हज यात्रामा सहभागी हुन अनुमति दिएका थिए।
अर्को वर्ष चिठ्ठाबाट छनोट भएका ६० हजार व्यक्तिलाई पूर्ण खोप लगाएर हज यात्रा गर्न अनुमति दिइएको थियो।
हज यात्रा यस वर्ष जुलाईमा छ। यसमा ६५ वर्ष मुनिका कोरोना खोप लगाएका व्यक्तिका सहभागी हुन पाउने छन्। साउदी अरब बाहिरबाट आउनेहरूले यात्रा गरेको ७२ घण्टाभित्र कोरोना परीक्षणमा नेगेटिभ प्रमाणपत्र पेस गर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।