काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आज (शनिबार)देखि प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरी तोकिएको मितिमा नै पूर्णता दिन सरोकारवालालाई निर्देशन दिएका छन्।
शनिबार मकवानपुरको मनहरी गाउँपालिका वडा– ५ स्थित भोजशिद्ध माविमा खोप अभियान सुरु गर्दै उहाँले खोप पूर्णरुपमा सुरक्षित भएकाले ढुक्क भएर आफ्ना बालबालिकालाई अभियानमा सहभागी गराउन आग्रह गरे।
आजदेखि प्रारम्भ भएको अभियान देशैभर वैशाख १८ गतेसम्म सञ्चालन हुने बताउँदै मन्त्री खतिवडाले यस अवधिमा १५ महिनादेखि १५ वर्षसम्मका करिब ७५ लाख बालबालिकामा खोप सेवा प्रवाह गरिने जानकारी दिए।
खोपका लागि देशैभर करिब ५० हजारभन्दा बढी खोप केन्द्र, आवश्यक खोप, दक्ष स्वास्थ्य जनशक्ति तथा स्वयंसेवकको व्यवस्था गरिएको बताउँदै उनले खोप अभियानबाट मकवानपुरका मात्रै १ लाख ८ हजार बालबालिका लाभान्वित हुने उल्लेख गरे।
विद्यालयबाट ८० प्रतिशत बालबालिकालाई खोप लगाइने लक्ष्य लिइएको र बाँकी सामुदायिक स्वास्थ्य कार्यालयबाट लगाइने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।