काठमाडौं– कीर्गिस्तानको साविक विजेता फरवाटर एफसीसँग नेपाली राष्ट्रिय फुटसल टोली पराजित भएको छ। कीर्गिस्तानस्थित बिस्केकस्थित मेडिकल युनिभर्सिटीमा शुक्रबार सम्पन्न खेलमा नेपाली टोली २-० गोलअन्तरले पराजित भएको हो।
खेलको २०औं मिनेटमा कीर्गिस्तानी टोलीले अग्रता लिएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको नेपालले दोस्रो हाफमा थप एक गोल खायो।
४३औं मिनेटमा कीर्गिस्तानी टोलीले काउन्टरमा गोल थप्न सफल भयो। बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टोली कीर्गिज क्लब डर्डोइसँग ३-१ गोल अन्तरले पराजित भएको थियो।
नेपाली टोलीका प्रशिक्षक गौरव बस्नेतले दोस्रो हाफमा पकड बनाएपछि फिनिसिङ गर्न नसकेको स्वीकार गरे।
‘अघिल्लो खेलमा भन्दा राम्रो भएको छ। पहिलो हाफमा केही कमजोरी रहे पनि दोस्रो हाफमा १३/१४ वटा टार्गेटमा सट प्रहार गर्यौं। तर, फिनिसिङ गर्न नसक्दा पराजित भयौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।