जलेश्वर– महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैतेछठ सम्पन्न भएको छ। चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यो पर्व अन्तिम दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै धुमधामका साथ सम्पन्न भएको छ।
चैते छठपर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिवासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाऊ तथा जिल्लाका प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जंगहा, अङ्कुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक छठ सम्पन्न भएको छ।
सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाऊ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।