काठमाडौं– उपकार लघुवित्त वित्तीय संस्थाले आज (शुक्रबार)देखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ। लघुवित्तले जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २५० कित्ता आईपीओ निष्कासनमा गरेको हो।
त्यसमध्ये ३ हजार २८१ कित्ता सेयर कर्मचारीलाई र ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी २ लाख २१ हजार १५६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
लघुवित्तको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। लघुवित्तको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।
लघुवित्तको आईपीओमा चैत २५ गते देखि फागुन २९ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे २०७९ बैशाख ९ गतेसम्म म्याद थप हुनेछ।
लघुवित्तको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।
हाल ४ करोड २० लाख रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी आईपीओ निष्कासनपश्चात् ६ करोड ५६ लाख २५ हजार रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।