काठमाडौं- धनगढीमा हुने तेस्रो ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ अन्तर्गतका थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने तेस्रो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आईकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक भएको हो।
सुदूरपश्चिम आइकन पुरुषको मनोनयनमा फुटबलका कुवेर सिंह, क्रिकेटका अर्जुन साउँद र भारात्तोलनका अशोक भण्डारी मनोनयनमा परेका छन्। त्यस्तै, सुदूरपश्चिम आइकन महिलातर्फ क्रिकेटकी कविता कुँवर, बक्सिङकी स्वस्तिका तिरुवा र तेक्वान्दोकी गीता कठायत मनोनयनमा परेका छन्।
कुवेर सिंहको कप्तानीमा कैलालीको स्टार सिटी प्रिसेडेन्ट च्याम्पियन बनेको थियो। त्यस्तै, उनकै कप्तानीमा बाजुराको रानीवन क्लब सि क्वालिफाई भएको थियो। उनकै नेतृत्व रहेको विजय स्पोर्टस क्लब जिल्ला च्याम्पियन बनेको थियो।
अर्जुन साउदले डेब्यू गर्दै प्रधानमन्त्री कपमा पहिलो शतक हानेका थिए। उनले एसीसी अण्डर १९ क्रिकेट प्रतियोगितामा श्रीलंकाविरुद्ध अर्धशतक बनाएका थिए। अशोक भण्डारीले २४ औं राष्ट्रिय भारात्तोलन प्रतियोगितामा सुदूरपश्चिमलाई स्वर्ण जिताएका छन्। उनी सोही प्रतियोगितामा उदयमान र सम्भाव्य खेलाडीको उपाधि जितेका थिए।
त्यस्तै, राजविराजमा भएकोमा भारात्तोलन प्रतियोगितामा पनि स्वर्ण जितेका थिए। क्रिकेटर कविता कुँवरले आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा सहभागी हुँदै नेपाली टोलीबाट डेब्यू गरेकी छन्।
प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगितामा ४ खेलमा ७ विकेट र ४० रनको योगदान दिएकी थिइन् । ललितपुर मेयर कपमा सुदूरपश्चिम उपविजेता हुँदा ५ खेलमा ४० रन र बनाउँदै उत्कृष्ट बलिङ गरेकी थिइन्।
स्वसित्मा तिरुवाले युएईमा सञ्चालन भएको जुनियर तथा युथ ब्वाइज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपाललाई कास्य पदक दिलाएकी छन्। उनले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै पदक जितेकी हुन्। जोर्डनमा आयोजित बक्सिङ प्रतियोगितामा उनले तीन चरण पार गरेकी थिइन्।
त्यस्तै तेक्वान्दोकी गीता कडायतले हालै काठमाण्डौंमा भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छिन् । उनले काठमाण्डौंमा भएको मेयर कपमा रजत पदक जितेकी थिइन्।
विभिन्न ८ विधामा दिईने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ। उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।