काठमाडौं– नेपाली राष्ट्रिय फुटसल टोली मैत्रीपूर्ण खेलमा कीर्गिज क्लब डर्डोइसँग पराजित भएको छ। बिहीबार सम्पन्न खेलमा नेपाल डर्डोइसँग ३-१ गोलअन्तरले पराजित भएको हो।
नेपालले छैटौं मिनेटमै विजय श्रेष्ठले गरेका गोलबाट अग्रता बनाएको थियो। तर, उक्त अग्रतालाई नेपालले जोगाउन सकेन।
पहिलो हाफको अन्तिम मिनेट बाँकी छँदा डर्डोइ खेलमा फर्कियो। उसको लागि अरापोभ कुबातले गोल गरे।
पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा थप दुई गोल भयो। डर्डोइका लागि दोस्रो गोल एन्डाबिकोध र तेस्रो गोल खेलको सुलिमानुभ ऐदरले गरे।
नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले आजको खेल उपलब्धिमुलक भएको बताए।
‘यसअघि हामी डिफेन्सिभ मात्र खेल्थ्यौं। यसपटक पूरा समय अट्याकिङमा प्रयास गर्यौं। आजको खेलले नतिजा सुधार्न यसले सहयोग पुर्याउने छ,’ प्रशिक्षकले बस्नेतले भने।
नेपालले एएफसी फुटसल एसियन कप क्वालिफायर्समा अप्रिल १० मा उज्बेकिस्तानसँग खेल्ने छ। यस्तै, अप्रिल ११ मा ताजकिस्तान र अप्रिल १२ मा अफगानिस्तानसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।