काठमाडौं– घट्दै गएको विदेशी सञ्चितिलाई जोगाउनको लागि नेपाल राष्ट्र बैंकले आयातित वस्तुमा कडाइ गर्न थालेको छ। केन्द्रीय बैंकले अहिले भइरहेको पेट्रोलियम पदार्थको आयातलाई पनि घटाउन सुझाव दिएको छ।
यसैगरी, केन्द्रीय बैंकले कम्तीमा पनि आगामी असार मसान्तसम्म निजी सवारी साधान आयातमा पूर्णरूपमा रोक लगाउन अर्थ मन्त्रालयलाई सुझाव दिएको नेपाल राष्ट्र बैंकका डेपुटि गर्भनर बमबहादुर मिश्रले नेपाल लाइभलाई जानकारी दिएका छन्।
सरकारले तस्कर गिरोहको प्रभावमा परेर सुपारी, मरिच तथा केराउजस्ता वस्तुको आयातमा लगाइएको प्रतिबन्ध हटाएकोमा समेत असन्तुष्टि जनाउँदै ती सामग्री आयातमा रोक लगाउन सुझाव दिइएको छ।
विदेशी मुद्रा सञ्चिति ६ महिनाका लागि पनि अपुग हुने भन्दै राष्ट्र बैंकले उच्च मूल्यका टेलिभिजन, मोबाइल सेट, मदिरालगायतका विलासिताका सामानको आयातलाई पनि भन्सार तथा करको माध्यमबाट नियन्त्रण गर्नुपर्ने सुझाव दिएको छ।
मिश्रका अनुसार लिखितरूपमा दिइएको सुझावमा विद्युतको घरेलु उपभोग बढाउन महशुल घटाउने तथा विद्युतीय चुल्हो, हिटर, कुकरलगायतका सामग्री खरिदमा अनुदान प्रदान गर्ने र एलपी ग्यासमा रहेको अनुदान तत्काल खारेज गर्न सुझाव दिएको छ।
काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरहरूमा निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेर पेट्रोलिय पदार्थ खपतमा नियन्त्रण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यस्तै, काठमाडौंभित्रका सबै सरकारी तथा सार्वजनिक निकायहरूमा साताको पाँच दिन कार्यालय समय एक घण्टा थप गरी शनिबार र आइतबार बिदा दिनसमेत प्रस्ताव गरेको छ।
मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पुग्न लागेको चेतावनी दिँदै राष्ट्र बैंकले अत्यावश्यकबाहेकका व्यापारिक वस्तुको आयातमा कुनै पनि प्रकारको कर्जा प्रवाह नगरिने व्यवस्था लागू गर्न भनेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।