काठमाडौं- सदस्यसचिव टंकलाल घिसिङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) फर्किएका छन्। सदस्यसचिवको विवाद समाप्त भएसँगै उनी बुधबार राखेपमा फर्किएका हुन्।
यसअघि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद विकास ऐन, २०७७ अनुसार तत्कालीन सदस्यसचिव रमेश सिलवाललाई बर्खास्त गरेर घिसिङलाई नियुक्त गरेका थिए।
सिलवालले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय र सदस्यसचिव घिसिङलाई राखेपको काम रोक्न आदेश दिनुपर्ने भन्दै रिट दायर गरेका थिए। उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले मंगलबार खारेज गरेको थियो।
सर्वोच्चको यो फैसलासँगै अब घिसिङलाई सदस्यसचिवको काम गर्न बाटो खुलेको छ। घिसिङले बुधबारदेखि नै आफ्नो कामकाज सुरु गरेका छन्।
राखेपमा फर्किएपछि घिसिङले चालु आर्थिक वर्षभित्रै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको निम्ति प्रयास गर्ने बताए।
‘राष्ट्रिय खेलकुद प्रतियोगिता मेरो प्राथमिकतामा पर्छ। केही दिनमा खेलकुद मन्त्रालयमार्फत् नेपाल सरकारलाई प्रस्ताव गर्छु। यसै आर्थिक वर्षभित्र राष्ट्रिय खेलकुदको आशा गर्न सकिन्छ,’ उनले भने।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने तय छ। यसअघि प्रतियोगिता फागुनमा हुने बताइएको थियो। तर, कोरोना महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो।
तर, खेलकुद मन्त्री गहतराजले भने प्रतियोगिता आगामी जेठमा गर्ने बताउँदै आएका छन्। तर, सदस्यसचिव घिसिङ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएकाले जेठमा प्रतियोगिता आयोजना गर्न नसकिने बताउँछन्।
‘प्रतियोगिता आयोजना अघि खेलाडीलाई तयारीका लागि निश्चित समय आवश्यक हुन्छ। र, त्यो पूरा भएपछि मात्र खेलाडी लैजाने हो। वैशाखमा ३० गते सम्म राष्ट्रिय खेलकुदमा जानै सक्दैनौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।