काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्यसचिव कुलबहादुर थापाले राजीनामा दिएका छन्। थापाले बुधबार राजीनामा दिएका हुन्।
यसअघि सरकारद्वारा बर्खास्तीमा परेका रमेशकुमार सिलवालले तत्कालीन सदस्यसचिव टंकलाल घिसिङविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
लामो समयदेखि अदालतामा रिट विचाराधीन रहेपछि खेलकुद मन्त्रालयले फागुन ४ गते थापालाई कार्यकारी अधिकारको जिम्मेवारी दिएको थियो।
मन्त्रालयले राखेप सदस्यसचिवको अनुपस्थितिमा उनलाई सदस्यसचिवले सम्पादन गर्ने प्रशासनिक तथा आर्थिक अधिकार प्रयोग गर्ने अधिकार समेत प्रदान गरेको थियो।
सर्वोच्चले मंगलबार सिलवालको रिट खारेज गर्यो। सर्वोच्चले रिट खारेज गरेपछि टंकलाल घिसिङलाई काम गर्ने बाटो खुलेको थियो।
घिसिङले काम गर्ने बाटो खुलेपछि थापाले राजीनामा दिएका हुन्। थापाले राखेप मातहतका विभिन्न विभाग र शाखमा प्रमुख भइ काम गरेका थिए।
यसअघि थापा प्रशासन विभाग र खेलकुद विकास विभागको प्रमुखको जिम्मेवारीमा रहिसकेका छन्। त्यस्तै, थापाले प्रचार–प्रसार शाखा, कर्मचारी प्रशासन शाखाल गायतमा प्रमुख भइ काम गरी गरिसकेका छन्।
समारोह विज्ञका रुपमा परिचित थापाले पाँचौंदेखि आठौं राष्ट्रिय खेलकुदको समारोह उपसमितिको महत्वपूर्ण जिम्मेवारीमा रहि काम गरेका छन्।
नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा थापाले समारोह निर्देशकको महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।