काठमाडौं– सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिअन्तर्गत निर्माण भइरहेका पुरातात्त्विक संरचनाको अनुगमन गरेकी छन्।
बुधबार बिहान अनुगमन गर्दै उनले आयोजना क्षेत्र अस्तव्यस्त देखिएकाले यसबारे मन्त्रालयमा थप छलफल गरिने बताइन्। आयोजनाको काम तोकिएको समयमा सक्न पनि मन्त्री झाँक्रीले निर्देशन दिइन्।
निर्माण क्षेत्रमा रहेका सत्तलमा आश्रित परिवारको व्यवस्थानबारे मन्त्रालयले सकारात्मक पहल गर्ने बताउँदै मन्त्री झाँक्रीले मन्त्रालयको एकल निर्णयले मात्र आश्रित परिवारको व्यवस्थापन गर्न नसकिने बताइन्। अन्य सरोकारवाला निकायहरुसँग छलफल गरेर नयाँ ठाउँमा पुनर्स्थापनाको विकल्प खोज्नु पर्ने उनको भनाइ थियो।
पहिलो क्षेत्रको काम सम्पन्न भइसकेको बताउँदै अधिकार सम्पन्न बागमती एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेलले दोस्रो र तेस्रो साइट निर्माण कार्य करिब ७० प्रतिशत सकिएको जानकारी दिए।
पुरातात्त्विक र सांस्कृतिक संरचना निर्माण गर्नुपर्ने आयोजना भएकाले काम गर्न अत्यन्तै संवेदनशील र चुनौतीपूर्ण रहेको उनको भनाइ थियो। आयोजनाको म्यादबाट आगामी असारसम्म रहेको छ।
आफूहरु समयमै काम सक्न प्रतिबद्ध रहेको बताउँदै प्याकुरेलले आफूले निर्माण व्यवसायी र परामर्शदातालाई आयोजना समयमै सक्न ताकेता गरिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।