काठमाडौं– जलस्रोतको उपयोग गरेर आर्थिक तथा सामाजिक लाभ लिनु तत्कालको आवश्यक्ता भएको उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले बताएकी छन्।
बुधवार ललितपुरमा आयोजित पानी, उर्जा, खाद्य तथा परिस्थितिकीय प्रणालीजन्य बहुआयामिक फाइदाहरुको प्राप्ति विषयक कार्यक्रममा सहभागी मन्त्री भुसालले आजको आवश्यक्ता नै जलस्रोतको व्यवस्थापन गर्नु रहेको बताइन्।
जलवायु परिवर्तनका कारण नेपालमा कृषि, वन, स्वास्थ्य, जैविक विविधतालगायत विभिन्न क्षेत्रमा समस्या परिरहेको उनले बताइन्। जलवायु परिवर्तनको असरले हिमनदी, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि जस्ता प्राकृतिक प्रकोपले समग्र क्षेत्रलाई असर पारिरहेको उनले बताइन्।
नेपालमा जलविद्युत्को प्रचुर सम्भावना भए पनि पनि सकेजति विद्युत् उत्पादन गर्न नसकिएको उनको भनाइ थियो। प्रविधिलाई कृषि, बजारीकरण, सीप र संस्थागत पक्षसँग एकीकृत गर्नु जरुरी रहेको भन्दै उनले त्यसका लागि आवश्यक खाका तयार पार्नुपर्ने बताइन्।
मन्त्री भुसालले भूमिगत जलस्रोतलाई दिगोरुपमा प्रयोग गरेर तराईको जमिन सिञ्चित गर्न सके सामाजिक तथा आर्थिक विकासमा ठूलो योगदान गर्ने विश्वाससमेत व्यक्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।