काठमाडौं– बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘केजीएफ २’ अप्रिल १४ बाट प्रदर्शनमा आउँदै छ। फिल्मलाई नेपालमा ल्याउन थुप्रै वितरकहरुले हानथाप गरेका थिए। जसमध्ये गोपीकृष्ण मुभिजको भगिनी संस्था ‘ए ऐट फिल्मस्’ले फिल्मलाई नेपालमा ल्याउने भएको छ।
आफ्नो फिल्म नेपालमा पनि प्रदर्शन हुने भएसँगै फिल्मका अभिनेता यशले नेपाली दर्शकलाई आफ्नो सन्देश पठाएका छन्। भिडियो सन्देशमार्फत उनले आफ्नो फिल्म हेर्न दर्शकलाई आग्रह गरेका छन्।
‘नमस्ते नेपाल,’ यशले भनेका छन्, ‘मेरो फिल्म ‘केजीएफ च्याप्टर २’ अप्रिल १४ मा नेपालमा प्रदर्शन हुँदैछ। हेरेर मजा लिनुहोला।’
२०१८ मा प्रदर्शनमा आएको ‘केजीएफ च्याप्टर १’ को सिक्वेल रहेको ‘केजीएफ चेप्टर २’ लाई लिएर नेपालमा पनि दर्शकमाझमा निकै उत्साह देखिएको छ। फिल्ममा पहिलो भागमा कोलार गोल्ड फिल्डमा रकि पुगेको कथापछिका घटनाहरुलाई देखाइएको छ।
फिल्ममा यशसँगै सञ्जय दत्त, श्रृनिधी शेट्टी, सञ्जय दत्त, रविना टण्डनलगायतका कलाकारको अभिनय रहेको छ। फिल्मलाई प्रशान्त निलले निर्देशन गरेका छन्।
‘केजीएफ च्याप्टर २’ प्रदर्शनमा आएकै दिन अर्थात् अप्रिल १४ (वैशाख १) बाट नेपाली फिल्म ‘ए मेरो हजुर ४’ पनि प्रदर्शनमा आउँदै छ। यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् भने फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।