काठमाडौं– शान्ति सम्झौताको १५ वर्षसम्म पनि सरकारले न्याय नदिएको भन्दै द्वन्द्वपीडितले राजधानीको माइतीघर मण्डलामा धर्ना दिएका छन्।
उनीहरूले २०५२ देखि २०६२ सम्म भएको द्वन्द्वकालमा भएका घटनाको छानविन गर्न गठन भएको सत्य निरुपण तथा मेलमिला र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन भएको ७ वर्ष बित्दा पनि सरकार द्वन्द्वपीडितको पीडा सम्बोधन गर्न जिम्मेवार नभएको आरोप लगाएका छन्।
पटकपटक पीडित न्यायका लागि आन्दोलनमा आउन परेको तर सरकार सधै न्याय दिने भन्दा पीडकहरूलाई संरक्षण गर्नेमा लागेको उनीहरूको आरोप छ। बुधबार माइतीघर मण्डलाबाट पनि पीडितहरूले यही आग्रह गरे।
उनीहरूले द्वन्द्वपीडितको पीडामाथि सरकार कहिलेसम्म रमिते बन्ने भन्दै प्रश्नसमेत गरेका थिए। तत्कालीन नेकपा माओवादी पार्टीले सुरु गरेको जनयुद्ध र उक्त समयमा भएको मानव अधिकार हननका लागि सरकारले विभिन्न समयमा २ आयोग गठन गरेको छ।
तर ती आयोगहरू राजनीतिक दलको कार्यकर्ता भर्ती केन्द्र हुँदा पीडितहरूले न्याय पाउन सकेका छैनन्। सरकारले अन्तराष्ट्रिय र राष्ट्रिय मञ्चहरूमा उनीहरूको पीडा सम्बोधन गर्ने भन्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।