काठमाडौं– महिलाहरुले नेतृत्व गरेको ठाउँमा पारदर्शिता र सुशासन भेटिने गरेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।
बजेटमा महिलाहरुको सुझाव संकलन गर्ने उद्देश्यले अर्थ मन्त्रालयमा मंगलबार दिउँसो आयोजित छलफलमा अर्थमन्त्री शर्माले महिलाहरुलाई आत्मनिर्भर बनाउने बिषयमा बजेटबाट सम्बोधनको प्रयास गर्ने बताए।
‘आत्मसम्मानसहितको आर्थिक निर्भरता प्रमुख विषय हो। यसका लागि शिक्षा र स्वास्थ्य अनिवार्य शर्त हो,’ उनले भने, ‘महिलालाई शिक्षा, स्वास्थ्यको पहुँच वृद्धि ग¥यो भने समाजलाई शिक्षित बनाउने अभियान छिटै हासिल हुने मेलै देखेको छु।’
सामाजिक चेतना वृद्धि नगरी महिला हिंसा अन्त्य नहुने उनको भनाइ थियो। महिला हिंसा अन्त्यका लागि आम महिलालाई जोडेर समाजमा चेतना वृद्धि गर्ने गरी बजेटको गृहकार्य भएको उनले बताए।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले महिलाका क्षेत्रमा कम बजेट बिनियोजन भएको बताइन्।
प्रत्येक प्रदेशमा प्रसूति अस्पताल, कैलालीको महिलाले न्याय पाउन सिंहदरबार धाउनुपर्ने व्यवस्थाको अन्त्य, महिला उद्यमशीलताको विकास, ग्रामिण क्षेत्र र सहरी क्षेत्रका महिलालाई अलग अलग नीति हुनुपर्नेलगायत सुझाव उनले दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।