काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो भारत भ्रमणको बारेमा गठबन्धनका दलहरुलाई ब्रिफिङ गरेका छन्।
बालुवाटारमा मंगलबार बिहान बसेको सत्तागठबन्धनको बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले भारत भ्रमणमा भएका छलफलबारे जानकारी गराएको एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले बताए।
गत शुक्रबार भारत भ्रमणमा गएका प्रधानमन्त्री देउवा आइतबार स्वदेश फर्किएका थिए। उनी स्वदेश फर्किएपछि गठबन्धनको बैठक बसेको हो।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले सीमा विवादबारे पनि कुरा उठाएका थिए। भारत भ्रमणका क्रममा पञ्चेश्वरदेखि विद्युत्तीय कनेक्टिभिटी लगायत विषयमा सम्झौता भएको थियो। भारत भ्रमणले दुई देशका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सफल भएको दाबी सरकारले गर्दै आएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा पनि दुवै देशले भ्रमण उपलब्धिमुलक नै भएको दाबी गरेका थिए। भ्रमणपछि संयुक्त विज्ञप्ति जारी नभए पनि नेपालका तर्फबाट उठाउनुपर्ने अजेण्ड पेस गरेको सरकारले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।